रामचन्द्र रायमाझी
पाल्पा, तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तिजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाँचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तिज अन्तर्गत आज दर खाने दिन हो । तर हिजो आज भने एक महिना अघिदेखि नै दर खाने गरिएको छ । कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज, भतेर, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटार जस्ता कुराले तिज मौलिक चाड हो भन्ने कुरालाई बिर्साइदिएको छ ।
विगतको विरासतलाई आजको तिजले धान्न सकेको छैन । ‘हुनेले मिठो मसिनो, नहुनेले पिठो मसिनो’ खाने पर्व थियो तिज । सात डाँडापारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबा आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठोमसिनो खाने खुवाउने, असल भाइचाराको गाँठो कसिलो बनाउने, चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरू बेला नभए पनि यो बेला माइत पठाउनै पर्ने पर्व थियो तिज । सायद, यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरूलाई । तर, आज यो अवस्था रहेन । हुने खानेहरूलाई त यसले राम्रै गर्ला तर, हुँदा खाने नेपाली समाजका अन्य महिलाहरूलाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने गरेको छ ।
गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घर–घरमा पाक्ने अनदीको लट्टे, खीर, तामा–टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाँचगान गर्दै खाइने दर ! त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा ! यही हो हाम्रो तिजको मौलिकता । तर अहिले यो मौलिक पर्व केही सम्भ्रान्त र नवधनाढ्य वर्गका महिलाले आर्थिक हैसियत प्रदर्शन गर्न र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा आलोच्य बनिरहेको छ । पारिवारिक सद्भाव र प्रेमको यो पर्वले चेली र माइतीबीचको अगाध मायाको प्रस्तुति त गर्छ नै, साथमा पति पत्नीबीचको प्रेम, त्याग र समर्पणको प्रतिविम्बन पनि गरेको हुन्छ । तर हिजो आजको तिजको संस्कृतिले भने यस्तो सबै कुरा बिर्सिदिएको छ । गुल्मी इस्माकी ७५ वर्षीय प्रेमा खत्री तिजको मौलिकता हराएकोप्रति चिन्ता व्यक्त गर्छिन् । उनी भन्छिन्, ‘बर्खा (असार–साउन)मा कामले लखतरान बनाउँथ्यो । भदौमा भने अलिक फुर्सद मिल्थ्यो । मनमा एक खालको उमंग छाउँथ्यो । धानका गाभा हरियो बन्दै जान्थे । खोलानाला उर्लिरहेकै हुन्थे । त्यो बेला बहिनीलाई दर खुवाउने निम्तो लिएर माइतबाट दाइ टुप्लुक्क आइपुग्थे । तब कोसेलीपात बोकेर माइत गइन्थ्यो तर आजभोलि भने त्यस्तो छैन ।’ माइतीमा दर खाँदै छमछमी नाचेको सम्झना उनी गर्छिन् । घिउमा बेसारसहित चामल राखेर पकाएको चाम्रे, तिलको छोप राखेको अचार, मासुका परिकार उनको सम्झनामा छ ।
उनी सानो छँदा आमा र भाउजुहरूसँग तिजको अघिल्लो मध्यरात दर खाएको सम्झना गर्छिन् । आफूले छोरीहरूलाई उसरी नै दर खुवाउने गरेको खत्री बताउँछिन् । उनी भन्छिन् ‘हिजो आज भने एक महिना अघिदेखि नै दर खाने र सुनका गहनामा सजिएर हिड्छन् ।’ उहिलेको तिज र अहिलेको तिजमा धेरै नै फरक आएको खत्रीको बुझाई छ । नयाँ पुस्ताले तिजलाई फड्किलो बनाएको पाल्पा तानसेनकी ६५ वर्षीया मेनुका न्यौपानेको भनाई छ । उनी भन्छिन् ‘उहिले उहिले त हुने खानेले मिठो मसिनो र नहुनेले आफुसँग जे छ त्यही मिठो बनाएर खाने गरिन्थ्यो, अहिले जस्तो महिनादिन अघिदेखि नै दर खाने चलन थिएन ।’ तिजका गीत पनि कस्ता हुन् उनले भनिन् ‘सुन्न पनि लाज लाग्न थाल्यो ।’ उहिले तिजमा गाइने गीतमा सासु, बुहारीका बेदना, दुख, पिर र पीडाहरुलाई गीतमार्फत पोख्ने गरेको खत्री सुनाउँछिन् । उनी भन्छिन् ‘दर, अर्को दिन ब्रत बस्दा भोक नलागोस् भनेर खाने गरिन्थ्यो, अहिले त एक महिनाअघिदेखि नै खान थाले ।’ तिज पर्वलाई नेपाली नारी दिवसको रुपमा सदियौदेखि मनाउन थालिएको हो । तर आजभोलि तिज पर्व मौलिक संस्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अलि फरक बन्दै जाँदा पुराना पुस्ताहरु चिन्तित बन्दै गएका हुन् ।