पाल्पा, हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज आज, भगवान शिवको आराधान गरेर मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा ब्रत बसी भगवान शिवको पुजा आराधना गर्नाले सुख शान्ति र परिवारको कल्याण हुने जनविश्वास रहेको छ ।
तिजको अघिल्लो दिन हिजो दर खाएका महिलाहरुले आज निराहार ब्रत बसेर शिवालयमा गएर पुजा आराधना गर्ने गर्दछन् । सत्ययुगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथनअनुसार तिजको दिन ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि शक्ति) ले ‘देवाधिदेव महादेवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलि· स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तिज पर्व मनाउने गरिएको पाइन्छ । यस दिन महिलाहरू आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तिजको व्रत बस्नुपर्ने मान्यता छ ।
तिजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् । व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेअगावै दर खाने चलन छ । यस दिन चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई वा मावलीले चेली भान्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन् । दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दूध, दही, घिउ आदि) आहार हो । भोलिपल्ट व्रत बस्न शक्ति प्राप्ति होस् भनेर पौष्टिक आहार गर्ने चलन रहेको छ । सो अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसँगीसँग भेटघाट गर्ने, नाँचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने गर्दछन् । यो अर्थमा तिज महिलामैत्री पर्वका रूपमा परिचित छ । पछिल्लो समय हिन्दूइतर वा अन्य धर्म र जातजातिका महिलाले पनि हर्षोल्लासका साथ तिज पर्व मनाउन थालेको पाइन्छ । यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ ।