रामचन्द्र रायमाझी
पाल्पा,
शिरै लाउने शिरफूल बाकसमा राखुँला
यो मनको विरह केमा राखुला ?
घरमा राखम भनी स्वामी सोझा छैनन्
माइतमा राखम भनी आमा छैनन् ।
आमा माइत नभएको भगवानले लगेर
स्वामी सोझा नभएको सौता भएर ।
पारीपारी आएका छाते टोपी लाएका
भैया हाम्रा होलान् की लिन आएका...
वर्ष दिनको तिजमा दादा लिन आएका
पापिनी सासुले दिनन् बरिलै...
माथिका यि गीत निकै पुराना शैलीका हुन भन्ने सबैले महशुस गर्न सक्छन् । भाउजूनन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तिजमा गाइने उपयुक्त पुराना लयका यि गीत आजभोलि गाउँ–घरमा सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तिजका गीत मादलको तालमा गाउँदै/नाच्दै गरिने रमाइलो एकाएक हराएको छ । आजकालको तिजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तिजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव देखिएको छ । घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तिजका गीतले अहिले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।
पाल्पा बगनासकालीकी ४५ वर्षीया फूलमाया न्यौपानेलाई आजकाल बजारमा आएका तिज गीत कति पनि मन पर्दैन । उनी भन्छिन् ‘गीतमा चेलीका बेदना, कथा व्यथाभन्दा पनि भड्काउ खालका परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका छन्,हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन् ।’ सानो–सानो काकरीको बतिलो, आमा टिपेर थालैमा । आइन् छोरी नभन्नुहोला, आमा म परेँ जालैमा । विगतका गीत सम्झिँदै पाल्पा माथागढी कि ६५ वर्षीया मिना भट्टराई भन्छिन् ‘अहिलेका तिज के तिज, आफैँले जुराएका गीतमा भाका हालेर गाउँदा अर्कै आनन्द र खुशी लाग्थ्यो, रमाइलो लाग्थ्यो ।’
गुल्मी इस्माकी ७२ वर्षीया पार्वती पाण्डेलाई तिजका गीत बज्यो कि रमाइलो लाग्ने गर्छ । तर हिजो आजका गीत सुन्दा भने उनलाई रिस उठेर आउन्छ । अहिले तिजका गीत सुनि नसक्नु भएको उनको गुनासो छ । ‘तिजका नाममा छाडा गीतहरू निस्किएका छन् । कर्मघरमा सासुले दुखदिएका पीडा, माइत जान नपाएका गुनासा, घर गरिखान दुःख भएको बिलौना समेटिने तिज गीतमा अचेल यो स्वाद भेटिँदैन । सुनिनसक्नु छ अचेलका तिज गीत’ उनी भन्छिन् । पाण्डेले भने जस्तै आजभोलि तिजकै नाउँमा भड्काउ गीत थुप्रै बनेका छन् । कुनै–कुनै तिज गीत परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय पनि त्यति नै अराजक हुँदा तिज गीत नै हो भन्न सकिने अवस्था छैन् ।
पछिल्ला दिनहरुमा मानिस शहरीकरणतर्फ उन्मूख हुनु र विभिन्न समुदायका मानिसहरुको रहनसहन, बोलीभाषाका कारण समूहमा गाईने ति पुराना शैलीका तिज गीतका भाकाहरु बिर्सदै गएको साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुस्कर अथक रेग्मी बताउँछन् । उनी भन्छन् ‘मानिस शहरीकरण भएसँगै एक्लिदै जाने र विभिन्न नयाँ–नयाँ प्रविधिहरुको प्रयोगबाटै तिजका गीतहरु आउने भएकाले तिजको मौलिकतामा कमी आएको छ । पछिल्लो समयमा मोवाईल, टेलिभिजनहरुमा आउने तिजका छाडा गीतहरुमा नाँच्न थालेका छन्, जसका कारण तिजको मौलिक संस्कृति हराउँदै जानुको साथै भड्किलो बन्दै गएको हो ।’