पाल्पा,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने भने पनि साँझा अवेरसम्म पनि गरेनन् । बोर्डले परीक्षाफल सार्वजनिक गर्ने भनिए पनि तयारी नपुगेका कारण गर्न नसकेको हो ।
विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेको बोर्डले जनाएको छ । यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गरिने पनि जनाएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइए पनि स्थगित भएको छ । अर्को बैठक बस्ने मिति र समय भने बोर्डले तोकेको छैन । बोर्डले मंगलबार मोबाइलमार्फत नतिजा हेर्न भनेर सूचना प्रवाह समेत गरेको थियो ।
जेठ १६ देखि २४ गतेसम्म देशभर सञ्चालित कक्षा १२ को परीक्षा प्रकाशनको अन्तिम तयारीमा बोर्ड जुटेको छ । लेटर ग्रेडिङ पद्धति २०७८ अनुसार यसवर्षको नतिजा सार्वजनिक गर्ने तयारी छ । उक्त पद्धतिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा नन ग्रेडिङ एनजी उल्लेख हुन्छ । यसअघि पनि बोर्डले १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई ग्रेडसिट मात्रै उपलब्ध गराउने गरेको थियो । यस्ता विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुने अवसर भने पाउने छन् । यस वर्ष ४ लाख १० हजार ५० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।