पाल्पा, पुस्तक समयमै उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशीक कार्यालय बुटवलका प्रमुख रामविनय श्रेष्ठले पुस्तक वितरणमा सबैलाई समान गर्ने बताएका छन् । पुस्तक वितरणमा जनक शिक्षाले विभेद गरेको व्यवसायीहरुको गुनासो प्रति लक्षित गर्दै श्रेष्ठले आगामी दिनमा वितरण प्रणालीलाई समान गर्ने बताए । केही दिन अघि लुम्बिनी प्रदेशको जनक शिक्षा सामग्री केन्द्रमा प्रमुखको जिम्मेवारी सम्हालेका श्रेष्ठले तानसेनमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले आयोजना गरेको कार्यक्रममा उनले सबै व्यवसायी र जनक शिक्षा बिचको सम्बन्ध नङ र मासुको जस्तै भएकाले पुस्तक वितरणमा कसैलाई काखा र कसैलाई पाखा लगाउने काम नगर्ने धारणा व्यक्त गरे । उनले आफु कार्यालयमा हाजिर भएको एक साता मात्र भएकाले कार्यालयमा भए गरेका बेथितीहरुलाई हटाउने प्रयास गर्ने समेत बताए । प्रमुख श्रेष्ठले पुस्तक व्यवसायीहरुसँग समन्वय गरेर मात्र आफुहरु अगाडि बढ्ने बताए । उनले कुनै पनि कर्मचारीले बदमासी गरेमा जानकारी गराउन समेत व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले नयाँ कार्यालय प्रमुखले देखाएको सक्रियता र चासोले पाल्पाका पुस्तक व्यवसायिहरुले सहज रुपमा पुस्तक पाइने विश्वास व्यक्त गरे । महासंघका केन्द्रीय सदस्य कमलराज तिमिल्सेनाले पाठ्यपुस्तकको समस्या राष्ट्रिय समस्या भएको बताए । उनले पहिलेको कार्यालय प्रमुखबाट ब्यवसायीहरुले समस्या झल्नु परेको भन्दै आगामी दिनमा त्यसतर्फ ध्यान कार्यालय प्रमुख श्रेष्ठलाई अनुरोध गरे ।
कार्यक्रममा महासंघका जिल्ला कोषाध्यक्ष रामप्रसाद पन्थीले जनक शिक्षा कार्यालयको वेवास्तका कारण समयमै पुस्तक पाउन नसकिएको भन्दै छिटो भन्दा छिटो सबै सेट पुस्तक उपलब्ध गराईदिन कार्यालय प्रमुख श्रेष्ठसँग आग्रह गरे । महासंघ पाल्पाका प्रेस सल्लाहाकार मुक्ति न्यौपानेले बजारमा ब्यवसायीले बढी नाफाको पछि लाग्दा पुस्तक समयमा नपुगेको गुनासो रहे पनि वास्तविकत त्यस्तो नभएको बताए । महासंघका अध्यक्ष किशोर भट्टराइको अध्यक्षता, सह–सचिव विष्णु खनालको स्वागत, सचिव तारा बहादुर सुनारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।