Shittalpati
बगनासकाली गाउँ सरकारका सय दिन : ५० उपलब्धी सार्वजनिक

कृष्ण पोखरेल
पाल्पा, बगनासकाली गाउँपालिकाले एक सय दिनमा भएका कामहरु तथा उपलब्धी सार्वजनिक गरेको छ । एक सय दिनको समयमा निति कार्यक्रम बजेट निर्माणदेखी ऐन नियम कार्यविधी निर्माण गरी सबै किसिमको काम गर्ने वातावरण निर्माण भएको गाउँपालिकाले जनाएको छ । एक सय दिनको अवधीमा ५० वटा कामहरु सम्पन्न भएको र अबका दिनमा विकास निर्माणका कामहरु तीव्र गतीमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

एक सय दिनको समयमा गाउँपालिकालाई कोभिड १९ तथा अन्य खोप पूर्ण सुनिश्चितता गाउँपालिका घोषणा गरेको, पालिकाको कामलाई चुस्त दुस्त र प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुका कार्य सम्पादन सम्झौता भएका छन् । कार्य सम्झौता अनुसार काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत र नगर्ने पक्षलाई कारवाही गर्ने रणनीति गाउँपालिकाले बनाएको छ । बर्षायाममा एक दिन पनि पूर्णरुपमा सडक ग्रामीण सडक अवरुद्ध नहुने गरी मर्मत सम्भारको व्यवस्था गरेको, यस बर्षको बर्षात्को समयमा अहिलेसम्म बगनासकालीका सडकहरु अवरुद्ध नभएको गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले बताईन् । निर्वाचनको घरदैलोको क्रममा जेष्ठ नागरिकबाट आएको सुझाव कार्यान्वयन गरी वडा–वडा टोल–टोलबाट बृद्धभत्ता वितरणको काम असोज महिनाबाट शुरु हुने जसका लागि नेपाल बैकसँग सम्झौता भई, बैकंले वडा–वडामा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी आवश्यक तयारीको काम पुरा भएको अध्यक्ष दर्लामीले बताईन् । बिमा नभएका अति विपन्न, असाहायको औषधी उपचार गाउँपालिकाबाट गर्ने नीति अनुसार एक सय दिनको अवधीमा १० जनालाई औषधी उपचारको नगद रकम सहयोग गरेको अध्यक्ष दर्लामीले बताईन् ।

उपभोक्तालाई सहुलियत दरमा खानेपानीको सुविधा प्रदान गर्न पालिका भरीमा लिफ्ट प्रणालीबाट सञ्चालित भएका खानेपानीहरुको ६० प्रतिशत विद्युत महशुल, पानी तान्ने मोटर नबने गरी विग्रिई नयाँ खरिद गर्दा लागत मूल्यको ६० प्रतिशत गाउँपालिकाले रकम तिरिदिने अनुसारको काम प्रक्रिया अगाडि बढेको गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले बताए । नयाँ जनप्रनिधिको कार्यपालिकाले पहिलो बैठकबाटै ग र घ वर्गका अपाङ्गहरुलाई सुरक्षा भत्ता वितरणका लागि कार्यविधी निर्माण गरी काम अगाडि बढेको र दशैको समयमा सामाजिक सुरक्षा भत्तासँगै वितरणको तयारी भएको पालिका उपाध्यक्ष पाठकले जानकारी दिए । पालिकामा अहिले ग बर्गका ६५ जना र घ बर्गका १२२ जना अपाङ्ग परिचयपत्र पाएका व्यक्ति रहेका छन् । पालिकाले ग वर्गका लागि ५ सय रुपैयाँ र घ वर्गका लागि ३ सय रुपैयाँ दिने निर्यण गरेको छ ।

पालिकाले साविको गाविस वडाहरुमा टोल विकास संस्था गठन गरी, पालिकाका सबै सूचना गतिविधी जनस्तरमा पुर्‍याउने, जनताका माग योजना तथा गुनासा सुझावहरु माथि पालिकासम्म ल्याउने गरी समन्वयकारी भुमिकाको लागि पालिकाभरी ७६ वटा टोलविकास गठन गरेको, टोल विकास संस्थाबाट वडा तहमा हुने विकास निर्माणमा समेत अनुगमन निगरानी बढाउने गरी जिम्मेवारी प्रदान गरिएको अध्यक्ष दर्लामीले बताईन । बगनासकालीमा जनजातिको बाहुल्यता भएको क्षेत्र भएको र परम्परादेखी नै घरेलु मदिराको आयआर्जनमा निर्भर भएका मूल व्यक्तिको पहिचान गरी बैकल्पिक पेशा वा घरेलु मदिरा व्यववस्थापनको विषयमा ठोस कदम चाल्ने गरी पालिकाले काम अगाडि बढाएको पालिका प्रवक्ता टिकाबहादुर थापाले बताए । बगनासकालीको मुख्य समस्या बादर तथा जंगली जनावर आतंक भएकाले जंगली जनावर व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको भए पनि विगतमा पालिकाले चालेका बादर नियन्त्रणका उपायहरु पूर्णरुपमा सफल नभएकाले सर्वदलिय, सर्वपक्षिय छलफलबाट प्रभावकारी कदम चाल्ने गरी तयारी भएको अध्यक्ष दर्लामीले बताईन् ।

पालिकाले प्रत्येक महिनामा सम्पादन भएका कार्यक्रम, गतिविधी, आम्दानी खर्च नियमित रुपमा सार्वजनिक गर्दै आएको प्रशासनिक कामलाई चुस्त दुस्त बनाउदै आएको, कर्मचारीहरुलाई निश्चित काम र जिम्मेवारी दिएको तर कार्यालयको नीति नियम अनुसार काम नगर्ने, सेवा प्रवाहमा बेवास्ता गर्ने कर्मचारीहरुलाई कानुन अनुसार कारवाही समेत चलाउने गरी तयारी भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले बताए । पालिकाबाट हुने हरेक कामलाई व्यस्थित, पारदर्शी, निति नियम संगत गर्नका लागि ४८ वटा कानुनलाई ऐकिकृत गरी कानुन संग्रह २०७९ निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तिले जानकारी दिए । गाउँ–गाउँका जनतालाई पालिकामा आई योजना सम्झौता गर्नुपर्ने काम वडा वडामा पुगी गर्ने गरी काम भईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update