Shittalpati
नेपाल महिला संघको आयोजनामा रामपुरमा तिज गीत प्रतियोगिता

पाल्पा, नेपाली काँग्रेसको भातृ सस्था नेपाल महिला संघ रामपुरको आयोजनामा २९ औं खुल्ला तिज गीत प्रतियोगिता भएको छ । संघले लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रामपुरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले उद्द्घाटन गरेकी हुन् । प्रतियोगिताको उद्घाटन गर्दै नेतृ तिवारीले संघले लोक संस्कृतिको संरक्षणमा देखाएको चासो प्रसंशनिय रहेको बताइन् । साथै तिवारीले महिलाहरुलाई संविधानले अधिकार सम्पन्न गराएको स्मरण गराउँदै अधिकार सुनिश्चितताको लागि महिलाहरु जागरुक हुनु आवश्यक रहेको औल्याइन् । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसले मुलुकमा जस्तो सुकै अप्ठ्याराहरु आए पनि समाधानको लागि काँध थाप्दै आएको बताउँदै संविधानको रक्षा र मुलुकको विकासको लागि आगामी निर्वाचनमा गठबन्धनलाई विजयी गराउनु पर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्यहरु मोति भण्डारी,विष्णुमाया ढकाल, रामपुर नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस महासमिति सदस्य रमण बहादुर थापा, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, चापाकोट नगरपालिकाका उपप्रमुख इशा राना, नेपाल महिला संघकी जिल्ला सभापति गंगा पौडेल लगायतले तिज पर्वले महिलाहरुमा आत्मविश्वास र आत्मियताको भावना जागृत हुने बताए ।

प्रतियोगितामा रामपुरका विभिन्न स्थानका ९ समुहको सहभागीता रहेको थियो । प्रतियोगी समुहले कोभिड १९ को असरले विद्यार्थीले पढ्न नपाएको, निर्वाचन जितेर सत्ता सम्हालेका नेतृत्वले देश विकास नगरेको लगायतका समसामयिक विषयवस्तुमा गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा रामपुर ६ विजयुरको शोभा खनालको समूह प्रथम, द युनिक गाईज किसानबारीको समूह द्वितिय, प्रगतिशिल आमा समूह तृतिय र आकृति घिमिरे र सीता पंगेनीको समूह सान्त्वना भएको छ । विजयी समुहलाई क्रमश नगद १५ हजार,१० हजार ,७ हजार र ४ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । सोही अवसरमा जेष्ठ महिलाहरुलाई सम्मान समेत गरिएको थियो । महिला संघ नगर सभापति शारदा आचार्यको अध्यक्षता, उपसभापति सावित्रा गैरेको स्वागत, संघकी क्षेत्रीय सचिव लक्ष्मी थापा र कल्पना सोमैको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update