Shittalpati
पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद

पाल्पा, पाल्पाबाट दुई लाख ६५ हजार बढीको अवैध कपडा बरामद गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङमा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी आर्यभञ्ज्याङले विभिन्न प्रकारको तीन बोरा अवैध कपडा बरामद गरेको हो ।

भन्सार छलेर ल्याएको तीन बोरा बेवारिसे कपडा विशेष सूचनाको आधारमा बरामद गरिएको थियो । प्रहरीका अनुसार दुई लाख ६५ हजार ५ सय बराबरको ५ सय ९० जोर कुर्ता सुरुवाल बरामद गरिएको छ । बेवारिसे अवस्थामा बोरामा मानिसले लगाउने जस्ता कपडा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी आर्यभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले उक्त सामान हेर्दा तीन वटा सेतो बोरामा विभिन्न रङका ५ सय ९० जोर कुर्ता सुरुवाल फेला पारेको हो । उक्त सामान नियन्त्रणमा लिई अनुसन्धानको लागि बेलहिया भन्सार कार्यालय रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा प्रहरीले केही दिन पनि दुई बोरा अवैध कपडा बरामद गरेको थियो । प्रहरीले जिल्लाको तिनाउ गाउँपालिका–३ पैठेडाँडामा चेकजाँच गर्ने क्रममा ८० हजार बराबरको दुई बोरा कपडा बरामद गरेको हो । दुई वटा बोरामा एक सय जोर कुर्ता सुरुवाल रहेका थिए । पछिल्लो समय सिमानाका हुँदै अवैध रुपमा पाल्पामा कपडाहरु ल्याउने गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update