Shittalpati
जोगिथुम भगवती मन्दिरको निर्माण आकर्षक

गुल्मी, गुल्मीको रेसुङ्गा नगरपालिका ४ जोगिथुममा रहेको जोगिथुम भगवतीको मन्दिर निर्माण आकर्षक बनेको छ । दुई सय वर्ष पुरानो मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको हो । रेसुङ्गा नगरपालिकाको ४४ लाख १९ हजार ६ सय २८ रुपैयाँको लागतमा मन्दिर निर्माण भएको छ ।

नवनिर्मित मन्दिरको एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका छन् । २०७८ माघ २३ गते यस अघिका नगर प्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेको मन्दिरको अहिलेका नगर प्रमुख पन्थीले उद्घाटन गर्ने सौभाग्य प्राप्त गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले हामी, हाम्रो समुदाय, हाम्रा धर्म–संस्कृति, मठ–मन्दिरहरुमा सबैको संरक्षण र सम्वद्र्धन गर्नु साझा दायित्व रहेको उल्लेख गरे । उनले स्थानीय मठमन्दिर, कलासंस्कृतिको संरक्षण स्थानीय सरकारको जिम्मेवारी भित्र रहेकाले तिनीहरुको संरक्षण र प्रवद्र्धन गर्ने बताए । नगरपालिकाको गौरवको योजना अन्तर्गत मन्दिर निर्माण भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद गौतमले बताए । मन्दिर उद्घाटन कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । करिव २ सय वर्ष पहलेदेखि नै पुजा गरिदै आएको मन्दिरमा एक सय वर्ष पहिलेका घण्टीहरु रहेका छन् ।

यस मन्दिर रहेको स्थान नजिकै सिंगो गाउँमा आगलागी हुँदा मन्दिर रहेको स्थानमा भने कुनै पनि क्षति नभएकाले त्यस मन्दिर रहेको स्थानमा भगवानको शक्ति रहेको स्थानीयले बताउँदै आएका छन् । मन्दिरमा सत्य मन वचनले पुजा आजा गर्नेहरुले आटेका कामहरु पनि पुरा हुने जनविश्वास रहिआएको स्थानीय झवि पाण्डेले बताए । प्रत्येक हप्ताको आइतबार पुजा हुने मन्दिरमा विभिन्न मनोकांक्षा पूरा होस् भनेर भाकलहरु पनि चढाउने गरिन्छ । जिल्लाका विभिन्न स्थानबाट मन्दिरमा पुजा गर्न श्रद्धालु भत्तजनहरु पुग्ने गर्दछन् । मन्दिरमा वडादशैं, चैतेदशैं लगायतका पर्वहरुमा विशेष पुजा हुने गर्दछ । यस मन्दिरमा वडादशैंको पूर्णिमाको दिन ठूलो मेला समेत लाग्ने गर्दछ ।      –अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update