Shittalpati
डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव

रामचन्द्र रायमाझी
पाल्पा, मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २/३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ । गत असारदेखि फैलिन थालेको डेंगुले अहिले देशभरका अस्पतालमा चाप बढ्दै गएको छ । डेंगुले महामारीको रूप लिइरहँदा नियन्त्रणको प्रमुख जिम्मेवार पाएका निकायहरु भने हरेस खाएजसरी बसेका छन् । उनीहरु डेंगु संक्रमितको तथ्यांक संकलनमा मात्रै केन्द्रीत भएको देखिन्छ । रोकथामका उपायतर्फ कसैको ध्यान छैन । गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी डेंगुका संक्रमित भएका भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ । व्यवस्थित उपचार र जोखिम पूर्वानुमानको कार्यसमेत नभएपछि यसले अहिले थप चुनौती थपेको छ । एकातिर कोरोना संक्रमणको जोखिम कायमै छ भने अर्कोतर्फ डेंगुको बढ्दो प्रकोपले आम नागरिक त्रसित बनेका छन् ।

पाल्पामा पनि बढ्दो डेंगु

पाल्पामा पनि पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रप्रसाद गिरीका अनुसार जिल्लामा सोमबारसम्म ४८ जनामा डेंगु संक्रमण देखिएको छ । यहाँका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन आउनेमा डेंगु संक्रमण देखिएको हो । केही दिनयता दिनहुँ डेंगुसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको चाप समेत यहाँका अस्पतालहरुमा बढेको छ । अस्पतालको आकस्मिक कक्षमा टाउको तथा मांसपेसी दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने र ग्रन्थी सुन्निने लगायतका समस्या लिएर आउने बिरामीहरू बढेको अस्पतालहरुले जनाएका छन् । पछिल्लो समय पाल्पामा डेंगु संक्रमणको प्रकोप निकै बढ्दै गएको डा.गिरीले बताए । उनले भने ‘सचेतना नअपनाउने हो भने अवस्था झन् विकराल बन्दै जाने छ ।’ भदौ महिनामा मात्र ३० जनामा डेंगु संक्रमण देखिएको गिरीले बताए । भदौ, असोज र कात्तिक महिनामा डेंगु संक्रमण अझै बढ्न सक्ने भएकाले सचेत हुन उनले सबैलाई आग्रह समेत गरेका छन् । ‘डेंगुबाट सिर्जित संक्रमण उत्कर्षतिर गइरहेको देखिन्छ । संक्रमणको तीव्रता लामखुट्टेको नियन्त्रणबिना ब्रेक लाग्ने देखिदैन । किनभने डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । हाल यो लामखुट्टे अत्यधिक सक्रिय र व्यापक भएको देखिन्छ । धेरै मानिसहरु राति सुत्दा झुल लगाउने र लामखुट्टे भगाउने धुप वा अन्य उपायहरु अपनाउने गर्दछन् । तर डेंगु भाइरस फैलाउने यो लामखुट्टे भने रातमा भन्दा दिनमा बढी सक्रिय हुने र टोक्ने गर्दछ’ डा. गिरीले भने । प्रकोप बढ्दै जान थालेकाले स्वास्थ्य कार्यालयबाट सबैलाई सचेत गराउने कार्य गरिएको समेत उनले बताए । डा.गिरीले भने ‘स्वास्थ्य कार्यालय एक्लैले यसको रोकथाम गर्न सक्दैन, सबैले आ–आफ्नो ठाउँबाट सचेत र सतर्कता अपनाउनुपर्छ ।’ जिल्लाका सबै स्थानीय सरकारहरुलाई प्रकोप रोकथाम तथा नियन्त्रणका लागि पत्रचार समेत गरिसकिएको उनले एजनेडीलाई जानकारी गराए । डेंगुमा जटिल अवस्था सिर्जना नहोस् भन्नका लागि विशेष सतर्कता अपनाउने र जटिलताका संकेतहरु देखिए तुरुन्त चिकित्सकको परामर्श लिने वा अस्पताल जान डा.गिरीले सबैलाई आग्रह गरे ।

परीक्षण गर्न किट अभाव

पाल्पामा डेंगु संक्रमण बढ्दै गए पनि स्वास्थ्य कार्यालयमा संक्रमण पत्ता लगाउने किट भने अभाव छ । किट नहुँदा लक्षण देखिएकाहरुको समेत परीक्षण गर्न नसकिएको कार्यालयका प्रमुख डा.गिरीले बताए । उनले भने ‘सरकारले किट उपलब्ध नगराउदा लक्षण देखिएका विरामीहरुले बाहिर गएर महँगो शुल्क तिरेर परीक्षण गराउनु परेको छ ।’ विरामी भएर निजी अस्पताल पुग्नेहरुको डेंगु र कोभिड दुवै परीक्षण गर्नुपर्ने भएकाले किट निःशुल्क नहुँदा पैसा तिरेर जाँच गर्नु परेको सेवाग्राहीहरुको गुनासो छ । यहाँका सरकारी अस्पतालहरु पाल्पा अस्पताल र रामपुर अस्पतालमा डेंगुको परीक्षण नै नहुँदा सेवाग्राहीले निजी अस्पतालहरुबाट महँगो शुल्क तिर्न बाध्य भएका हुन् । दिउँसोमा टोक्ने लामखुट्टेबाट बढी सचेत हुनुपर्ने डा.गिरीले बताए ।

डेंगु के हो ?

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । डेंगु नेपालमा सन् २००४ मा देखिएको थियो । त्यसपछि हरेक वर्षजसो देखिंदै आएको छ । सन् २०१९ सबैभन्दा धेरै जनसंख्यालाई संक्रमित गराएको र अधिकांश जिल्लालाई प्रभावित पारेको थियो । लामखुट्टले टोकेर हुने भाइरल संक्रमण प्रत्येक वर्ष रोगको रूपमा रहने देखिन्छ । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।

यसका लक्षण के–के हुन् ?

मानिसमा संक्रमण भएको चारदेखि १० दिनमा यसको लक्षण देखिन सुरू हुन्छ । विशेषगरी अत्यधिक ज्वरो आउनु, असाध्यै शरीरमा पीडा हुनु, आँखाको गेडी दुख्नु, ढाडको तत्लो भाग कट्कट खानु, खुट्टाको जोर्नी एकदमै दुख्नु, खान मन नलाग्नु, वान्ता हुनु जस्ता लक्षण देखिन्छन् । पछिल्लो समयमा केही मानिसमा दिसा पातलो जाने, धेरै पसिना आउने नयाँ लक्षण देखिएका छन् ।

लामखुट्टेको टोकाइबाट जोगिने कसरी ?

डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ । पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राखौं । साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ । यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । त्यसैगरी, कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर ढाक्ने लुगा उपयुक्त हुन्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update