बुटवल, नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले निर्वाचनका बेला सबै राजनीतिक दलहरुले मजदुरहरुको हक हितमा काम गर्ने आश्वासन दिने गरे पनि व्यवहारमा कार्यान्वयन नहुने भन्दै मजदुर वर्ग नै नेतृत्व तहमा पुग्नु पर्नेमा जोड दिए । जनमत सञ्चार केन्द्र नेपालद्वारा बुटवलमा आयोजना गरिएको आगामी निर्वाचनमा मजदुरको प्रतिनिधित्व विषयक अनतक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश मजदुर नेताहरुले यस्तो बताएका हुन् ।
मजदुर नेताहरुले आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने बताएका छन् । अन्य समयमा मजदुरलाई प्रयोग गरे पनी उम्मेदवार छनोट गर्दा दलहरुले मजदुरहरुलाई उपेक्षा गर्ने गरेको भन्दै उनीहरुले आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष कृष्ण बेलवासेले सबै दलहरुले मजदुरहरुलाई आश्वासन मात्रै दिने तर व्यवहारमा कार्यान्वयन नगर्ने गरेको गुनासो गर्दै मजदुर वर्गको हक हितका लागि नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको बताए । आफुलाई मजदुरको पार्टी भएको दाबी गर्ने दलहरुबाट समेत निर्वाचनमा मजदुरहरुको प्रतिनिधित्व गराउर्ने कार्यमा कन्जुस्याई गर्ने गरेको भन्दै उनले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कम्तिमा पनि १० प्रतिशत मजदुरहरुको प्रतिनिधित्व गराउनुपर्ने धारणा राखे । राज्यका विभिन्न निकायमा विभिन्न क्षेत्रमा आरक्षणको ब्यवस्था गरे जस्तै निर्वाचनमा मजदुरहरुलाई पनि आरक्षणको ब्यवस्था गर्नुपर्ने उनको भनाई थियो । बेलवासेले भने ‘निर्वाचनमा विभिन्न कोटाहरु छुट्याईएको छ, तर मजदुरहरुका लागि छैन । अब यसको बारेमा जनता, नेता, मन्त्री सबैले गम्भीर हुनुपर्छ ।’ उनले प्रदेशसभा निर्वाचनमा आफ्नो नाम सिफारिस भएको बताउँदै टिकट दिन आग्रह समेत गरे ।
कार्यक्रममा ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज गोकर्ण गिरिले राजनीतिक दलहरुले निर्वाचनमा मागेभन्दा न्यून अवसर दिएको गुनासो गरे । उनले निर्वाचनमा १० प्रतिशत सहभागीता गराउनुपर्ने भएपनि २÷३ प्रतिशतको हाराहारीमा मात्रै प्रतिनिधित्व गराएको बताए । उनले निर्वाचनमा कार्यक्रम आयोजना गर्न लगाउने र आफै विजयी भएर जाने गरेको गुनासो समेत गरे । कार्यक्रम जनमत सञ्चार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको थियो ।