Shittalpati
जनता माविले मनायो ७१ औं वार्षिकउत्सव

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको लामो शैक्षिक इतिहास बोकेको जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले ७१ औ वार्षिकउत्सव मनाएको छ । राणाकालिन समयमा जनताका छोरा छोरीहरुलाई पठनपाठनको लागि चन्दा संकलन, मुष्टि दानबाट विसं २००८ सालमा जनता विद्यालय स्थापना भएको थियो । वार्षिकउत्सव कार्यक्रमको लुम्बिनी प्रदेशका सिंचाई, उर्जा तथा जलश्रोत मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ।

वार्षिकउत्सव कार्यक्रममा उर्जामन्त्री रानाले जनता विद्यालय पाल्पाकै नमुना विद्यालय, शैक्षिक धरोहर भएको बताए । तानसेनको जनता विद्यालयले राणाकालिन समयदेखि जिल्लाको शैक्षिक विकासमा ठुलो योगदान पुर्‍याएको बताए । जनता विद्यालयमा अझै प्रशस्त विधार्थी, सक्षम शिक्षक, समय युग सुहाउँदो विषयवस्तु, प्राविधिक धार जस्ता पढाईले विद्यालयको भविष्य उज्ज्वल रहेको मन्त्री रानाले बताए । प्रदेश सरकारबाट विद्यालयको लागि आवश्यक सहयोग जारी रहने मन्त्री रानाले प्रतिवद्धता जनाए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिल कुवँरले ८ करोड ३८ लाख ३९ हजार बराबरको वार्षिक आम्दानी खर्च पेश गरे । प्रधानाध्यापक कुवँरले आगामी ५ वर्षभित्र भूकम्प प्रतिरोधी भएको सुरक्षित आधुनिक विद्यालय बनाउने, एक विद्यार्थी एक कम्प्युटर, एक शिक्षक एक कम्प्युटर र बालमैत्री श्रोतसाधनले सम्पन्न गराउने कार्ययोजना बनाई अगाडि बढेको बताए ।

तत्कालै विद्यालयले २ वटा स्कुल बस किन्ने, स्टेम प्रयोगशाला र गणित प्रयोगशाला निर्माण गर्ने, जेभिटिलाई जिल्लाकै प्रथम शैक्षिक संस्थाको रुपमा विकास गर्ने, विज्ञान अध्ययनरत विद्यार्थी निःशुल्क अध्यनको व्यवस्था मिलाउने काममा क्रियाशील रहेको प्रद्यानाध्यापक कुवँरले जानकारी दिए । हाल विद्यालयमा १ हजार २ सय २४ जना विद्यार्थीहरु अध्यनरत रहेको बताउँदै प्रधानाध्यापक कुवँरले जनता माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुँदै आएको, कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ सिभिल ईन्जिनियरिङको अध्ययन हुँदै आएको, कक्षा ११ मा सिभिई ईन्जिनियरिङ, विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन हुँदै आएको, खुला कक्षा ८ देखि खुला विद्यालयको पठनपाठन हँुदै आएको, सबै क्षेत्रका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याई विद्यालयलाई उत्कृष्ट स्थानमा राख्दै आएको बताए । अहिले जनता विद्यालयमा सरकारको छात्रबृत्तिकोटामा लुम्बिनी प्रदेशका ६८ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । यस वर्ष एसइई नतिजामा सामुदायिक तर्फ जिल्ला प्रथम सहित १० जना विधार्थीले ए प्लस नतिजा ल्याएको प्रद्यानाध्यापक कुवँरले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल किशोर घिमिरे, नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुँराश आत्रेय, राष्टिूय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चा पाल्पाका कोषाध्यक्ष टिकाराम पौडेल, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष मोहन सापकोटा, एकिकृत अखिल नेपाल शिक्षक अर्गनाइजेशनका अध्यक्ष युवराज पन्त, विद्यालयका पुर्व प्रधानाध्यापक बुद्धिप्रसाद शर्मा, पूर्व शिक्षक केदारप्रसाद श्रेष्ठ लगायतले विद्यालयको वार्षिकउत्सवको असवरमा शुभकामना दिदै पाल्पाको शैक्षिक क्षेत्रमा विद्यालयले गरेको योगदान महत्वपूर्ण रहेको बताए ।
वार्षिकउत्सव कार्यक्रममा करीव ३ लाख बराबरको ४ सय जना भन्दा विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भुसालको सभापतित्वमा भएको वार्षिकउत्सव कार्यक्रममा विद्यालयका शिक्षक रामप्रसाद ढकाल र विद्यार्थी खुसी ज्ञवालीको स्वागत र सहायक प्रद्यानाध्यापक हरिप्रसाद घिमिरेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update