Shittalpati
विविध कार्यक्रम गरी मनायो बगनासकालीले निजामती दिवस

कृष्ण पोखरेल
पाल्पा, निजामती दिवसको अवसरमा बगनासकाली गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरी मनाएका छन् । निजामती दिवसको अवसरमा गाउँपालिकाले बगनासकाली पालिकाभित्रको साहित्यको अनुसन्धान कृति प्रकाशन, निवन्ध प्रतियोगिता, महिला दौड प्रतियोगिता र व्याडमिण्टन प्रतियोगिताका कार्यक्रमहरु गरी दिवस मनाएका हुन् ।

दिवस गरिएको अन्तर कर्मचारी निबन्ध प्रतियोगितामा भोजराज भट्टराई प्रथम, हरिहर गैरे द्वितीय, सुजन घिमिरे तृतीय र कोशलराज पौडेल सान्तवना भएका छन् । बिजेता प्रतियोगीलाई क्रमशः ७ हजार, ६ हजार, ५ हजार र ३ हजार ५ सयका साथमा ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो । अन्तर कर्मचारी व्याडमिण्टन प्रतियोगितामा गणेश कुँवर र नारायण न्यौपानेको समुह प्रथम, विष्णु घर्र्ती र टिकाराम पौडेलको समुह द्वितीय, कल्याणसिंह पाण्डे र प्रेमबहादुर बगालेको समुह तृतीय, धनकुमारी राना र नन्दा चिदीको समुह सान्त्वना भएका हुन् । विजेता प्रतियोगीलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजारको साथमा ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो । पालिकास्तरीय खुल्ला महिला दौड प्रतियोगितामा विष्णु तिमिल्सिना प्रथम, दिलु गाहा द्वितीय, सीता लम्तरी तृतीय र शर्मिला वली सान्तवना भएका छन् । बिजेता टोलीलाई क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजारका साथमा ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष सरस्वती चिदीले सुशासन सहितको सरल सेवा प्रवाहका लागि कर्मचारी र जनप्रतिनिधि बीच सम्बन्ध समधुर हुनुपर्ने बताइन् । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले जनप्रतिनिधी र कर्मचारी मिलेर पालिकाको सेवा प्रवाह चुस्तदुस्त गर्न सकिने बताए । प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले कर्मचारीहरूमा हार्दिकता बढाउन सकेमा कार्यसम्पादन प्रभावकारी हुने भन्दै निजामती दिवसलाई विशेष कार्यक्रमका साथ मनाइएको बताए ।

बगनासकाली पालिकाभित्रको साहित्यको अनुसन्धान कृतिका समीक्षक टंक पन्तले बगनासकालीको बृहत्तर साहित्यिक पहिचानमा कृतिले योगदान दिएको बताए । त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख टंक भट्टराईले साहित्यिक अनुसन्धान सहित कृति प्रकाशन देशका अन्य स्थानीय तहका लागि अनुसरणयोग्य कार्य भएको बताए । जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले साहित्यिक अनुसन्धान पालिकामा स्रष्टाहरूको गरिमा भएको बताए । लेखक डा.शंकर गैरेले कृति गाउँपालिकाको साहित्यिक सम्पत्ति भएको बताए । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख सुजन घिमिरेले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update