कृष्ण पोखरेल
पाल्पा, तिनाउ गाउँपालिका पाल्पाका नवनिर्वाचत जनप्रतिनिधिहरुले एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा विकास निर्माणदेखि सुशासन कायम गर्ने सबै किसिमका आर्थिक, कानुनी आधारहरु तयार गरी अगाडि बढेको गाउँपालिकाले जनाएको छ । दुर्गम र विकट वडा भएकोले हिउँद्मा मात्र सञ्चालन हुने यातायातलाई बर्षायाममा पनि नियमित रुपमा सञ्चालन गर्ने गरी सबै वडा कार्यालयसम्म पुग्ने मुख्य मोटर बाटो स्तरउन्नतिको काम शुरु गरेको जनाएको छ । गाउँपालिका भित्रका व्यक्तिहरु दुर्घटनामा परी पाल्पा तथा रुपन्देहीका अस्पतालहरु पुर्याउन निःशुल्क यातायाता सेवा प्रदान गरिएको, सुत्केरी महिलाहरुलाई घरदेखि स्वास्थ्य संस्थासम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको, अस्पतामा बस्दा सुत्केरीको कुरुवालाई समेत खानपानको व्यवस्था मिलाएको, जनतालाई लिफ्ट खानेपानी शुल्क महङ्गो भएकोले पालिकाभरी नै खानेपानीको विद्युत महसुलको २५ प्रतिशत गाउँपालिकाले तिरिदिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले सबै वडामा अपूरा योजनाहरु खानेपानी तथा निर्माणधिन भौतिक पूर्वाधार निरन्तरता दिएको, प्रत्येक वडामा एक÷एक वटा ठुला योजना निर्माण गरी कामको प्रक्रिया अगाडि बढाएको, गाउँपालिका रहेका टिप्पर व्यवसायी तथा श्रमिकहरुलाई पिर मर्कालाई सम्वोधन गर्न खानी उद्योगहरुसँग छलफल चलाएको, खानी उद्योगलाई व्यवस्थित, वातावरणमैत्री, सम्झौता अनुसारको मात्र उत्खनन गर्न र स्थानीयवासीका समस्या सम्वोधन गर्न, उनीहरुलाई अवरोध नहुने गरी काम गर्ने वातावरण बनाउन गाउँपालिकाले सहजीकरण गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । छोराछोरी पढाउने नाममा शहरी क्षेत्रमा हुने बसाई सराई रोक्ने प्रत्येक वडाका माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन शुरु गरेको छौं, अहिले नमुनामा रुपमा वडा २ दोभान मावि र वडा ३ तिलोत्तमा माविमा आवासीय विद्यालय सञ्चालन गरेको छौ, आगामी वर्ष अन्य
वडाका माध्यमिक विद्यालयमा पनि आवासीय विद्यालय सञ्चालनको तयारीमा पालिका लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विद्यालयमा गुणस्तरीय शिक्षा लागि विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्झौता उत्कृष्ट नतिजा हासिल गर्नेलाई पुरस्कृत, राम्रो नतिजा नल्याउनेलाई कारवाहीको प्रक्रियामा गाउँपालिकाल लागेको अध्यक्ष श्रेष्ठले बताए । निर्वाचनको समयमा जेष्ठ नागरिक तथा अपा·हरुको सामाजिक भत्ता रकम सहज रुपमा वितरण गर्ने प्रतिवद्धता अनुसार लक्ष्मी बैंक, साइन रेसुङ्गा बैकसँगको सहकार्यमा वडा वडाबाट रकम वितरण गर्ने गरी बैकसँग कुराकानी भइरहेको पालिकाले जनाएको छ । गाउँपालिकालाई पाल्पामै पहिलो कोभिड १९ विरुद्धको पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको, भुमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासलाई जग्गा व्यवस्थापन गर्न भूमि आयोग र गाउँपालिका बिच सम्झौता भई वडा÷वडाबाट विवरण संकलन भएको गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले जानकारी दिए । जनताका पिर मर्का गुनासो सुन्न अध्यक्ष र उपाध्यक्ष सहित घरदैलो अभियान सञ्चालन गर्ने अध्यक्ष प्रेम श्रेष्ठले बताए । अघिल्लो जनप्रतिनिधिबाट पालिका भवनदेखि वडा कार्यालयका भवन निर्माण पूरा भएकोले, पुराना सडकहरुको स्तरउन्नति, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनको क्षेत्रमा पालिकाले प्राथमिकता दिएर काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सीना, नेकपा माओवादी केन्द्र तिनाउका अध्ययक्ष दिनेश जिसी, नेपाली काँग्रेस तिनाउका अध्यक्ष प्रेम पाण्डे, नेकपा एमाले तिनाउका अध्यक्ष रोमबहादुर लम्तरी एक सय दिनमा भएका कामहरु राम्रो भएपनि जनताका समस्याहरु बुझेर काम गर्न नयाँ जनप्रतिनिधिहरुलाई सुझाव दिए । सहभागीबाट उठाएका सुझाव तथा जिज्ञासाको अध्यक्ष प्रेम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जवाफ दिएका थिए । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लालबहादुर थापाको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठको सञ्चालनमा भएको थियो ।