कृष्ण पोखरेल
पाल्पा, पाल्पा, गुल्मी र अर्घाखाँचीका गाउँपालिकाहरुलाई गाउँ नगर सभा सञ्चालन, सभा सञ्चालन गर्ने कानुनी विधि र प्रक्रिया सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास कार्यक्रम तानसेनमा सञ्चालन भएको छ । गाउँपालिकाले आ–आफ्नै शैली र पक्रियाबाट गाउँ सभा सञ्चालन गर्दै आएकोमा गाउँपालिका महासंघले लुम्बिनी प्रदेश सरकारको कानुन नियम र विधि पक्रिया अनुसार सञ्चालन गर्ने सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराएको छ ।
शुक्रबारबाट शुरु भएको दुई दिने कार्यशालामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा गरिएको कार्यशालामा संघीयतामा स्थानीय सरकारको भूमिका दायित्व, काम कर्तव्य अधिकार, संवैधानिक तथा कानुनी व्यवस्था, गाउँ सभा सञ्चालन पक्रिया, संघियता र नेपालको संविधान, स्थानीय सरकारका अंगहरुको बारेमा गाउँपालिका राष्ट्रिय महासंघका निर्देशक राजेन्द्र प्याकुरेलले सहजीकरण गरेका थिए । कार्यशालामा स्थानीय सभा सञ्चालनको विधि र प्रक्रिया, स्थानीय सभाका कार्यक्रम तथा कार्यतालिका, स्थानीय सभाको बैठक प्रणाली, स्थानीय सभाको सचिवालय सम्वन्धी व्यवस्था, स्थानीय तहमा कानुन निर्माण पक्रिया र प्रयोग लुम्बिनी प्रदेश सभा सचिवालयकी अधिकृत सम्झना सुवेदीले सहजीकण गरेकी थिइन् ।
पहिलो दिन गाउँ सभा सञ्चालनको विधि प्रक्रिया र गाउँपालिकाले गर्दै आएका अभ्यासको बारेमा दुबै पक्ष विच छलफल अन्तक्र्रिया गरिएको छ भने दोस्रो दिन सबै विषयवस्तुको व्यवहारिक अभ्यास गराईने गाउँपालिका महासंघका केन्द्रिय सदस्य एवं निवर्तमान बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । गाउँपालिकालाई अधिकार सम्पन्न बनाउन, पालिकालाई सक्षम बनाउन, कानुनी बाटोमा सबै काम गर्न र गराउन महासंघले विगतमा सहयोग गरेको र आउँदा दिनमा पनि सहयोग गर्दै जाने सचिवालय सदस्य बस्यालले बताए । कार्यशालामा पाल्पाका निस्दी, पूर्वखोला, बगनासकाली, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका, गुल्मीका इश्मा, धुर्काेट, छत्रकोट र चन्द्रकोट गाउँपालिका र अर्घाखाँचीबाट छत्रदेव, पाणिनी र मालारानी गरी १२ वटा गाउँपालिकाको सहभागिता रहेको छ । पाल्पा, गुल्मी र अर्घखाचीका बाँकी रहेका अन्य गाउँपालिकाहरुमा दशै पछि यो कार्यशाला सञ्चालन गरिने महासंघ लुम्बिनी गण्डकी प्रदेशका समन्वय अधिकृत रविन गौतमले बताए ।
कार्यक्रममा महासंघका सचिवालय सदस्य एवं निवर्तमान छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले पहिलो कार्यकालका जनप्रतिनिधिहरुले सिकाइको क्रममा चाहे अनुसारको चुनौती रहेपनि अहिलेका जनप्रतिनिधिहरुलाई तालिमदेखि कानुनी पक्रियामा सहजता बनेको बताए । जनताको घरदैलोको सरकार भनेकै स्थानीय सरकार भएको सबै जनताले हाम्रो निगरानी गरिरहेकोले जनतामुखी भएर काम गर्नुपर्ने पोखरेलले बताए ।
कार्यशाला गाउँपालिका महासंघका सचिवालय सदस्य एवं कालीगण्डकी गाउँपालिका स्याङ्जाका निवर्तमान अध्यक्ष खिम थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य कृष्ण बस्यालको स्वागत र महासंघका लुम्बिनी र गण्डकी प्रदेशका समन्वय अधिकृत रविन गौतमको सञ्चालनमा भएको थियो ।