Shittalpati
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ

कृष्ण पोखरेल

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनको सिल्खानटोलमा कार्यालय स्थापना गरेको छ । चौतारी कार्यालयको नेकपा एमालेका पोलिटिव्यूरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले शुभारम्भ गरेका हुन् । कार्यालय शुभारम्भ कार्यक्रममा बोल्दै पाल्पा इन्चाज गैरेले सरकारले नागरिकता ऐन मार्फत विदेशीहरुलाई सहजरुपमा नागरिता दिई देशको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सिध्याउने चलखेलमा लागेकोले पत्रकारहरुले सक्रिय भूमिका खेल्नुपर्ने समय आएको बताए ।

लाखौ नेपालीहरु नागरिकता नपाई अनागरिक भइरहेको समयमा देशलाई विदेशीको हातमा पु¥याउने गरी सरकारले नागरिकता ऐन ल्याई प्रमाणिकरणको लागि राष्ट्रपतिमा पठाएकोले जनमासमा सहि सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी पत्रकारहरुको काधमा आएको पोलिटिव्यूरो सदस्य गैरेले बताए । सरकारले नेपाललाई विदेशी शक्ति केन्द्रहरु चलखेल गर्ने थलोको रुपमा परिणत गरेको, छिमेकीसंग मित्रवत सम्बन्ध राख्नुपर्नेमा दक्षिणतर्फ ढल्किएको आरोप नेता गैरेले लगाए । पाल्पा सम्भावनायुक्त जिल्ला भएकोले राम्रो नेतृत्वको हातमा परे पाल्पाले ५ वर्षकै अवधीमा विकासको फड्को मार्ने नेता गैरेले बताए । पाल्पालाई कृषि तथा पशुपालन, पर्यटन तथा शिक्षा स्वास्थ्य हवको रुपमा विकास गर्ने थुप्रै आधारहरु नेकपा एमालेसंग भएकोले आगामी मंसिरको निर्वाचनमा सूर्यमा मत हाली विकासको ढोका खोल्न अनुरोध गरे ।

नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधिसभा सदस्यको लागि एकल सिफारिसमा परेका गैरे लुम्बिनी प्रदेशबाट समेत एकल सिफारिसमा परेका छन् । पाल्पाको विकास गर्न आर्थिक श्रोत कमी नरहेको, श्रोतको व्यवस्थान गर्न सकिने र अहिले सम्म पाल्पाले भिजन भएको नेतृत्व नपाएकोले पाल्पाको विकास गर्न उम्मेदवार सिफारिस गरेको नेता गैरेले बताए । पाल्पाली जनताको आयआर्जन बढाउन, पाल्पा क्षेत्रको शैक्षिकस्तर सुधार गर्न क्रियाशील भएर काम गर्ने नेता गैरेले बताए ।

कार्यालय शुभारम्भ कार्यक्रममा नेपाल प्रेस युनियनका सभापति भरत शर्माले राम्रोसंग कार्यालय व्यवस्थापन गर्नु संगठनको सफलता भएको बताए । कार्यालय राम्रो तथा पत्रकारहरुलाई चाहिने आवश्यक उपकरण भएमा पत्रकारहरु तथा संगठनका सदस्यहरुलाई काम गर्ने जोश जागर आउने युनियनका सभापति शर्माले बताए । कार्यक्रममा प्रेस चौतरी नेपालका केन्द्रिय सदस्य एवं लुम्बिनी सह–इन्चार्ज कमलराज तिमिल्सीनाले पाल्पाको सबैभन्दा बढी पत्रकारहरु रहेको संस्था प्रेस चौतारी रहेको अवस्थामा व्यवस्थित कार्यालय सञ्चालन गरेर सदस्यहरु क्रियाशील बनाएको बताए । कार्यालय व्यवस्थापनले चौतारीका सदस्यहरुमा थप सक्रियता बढाएको केन्द्रिय सदस्य तिमिल्सीनाले बताए । प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update