गुल्मी, जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा सरसफाई गरिएको छ । गत साउनमा सञ्चालन भएको मेलामा संकलन भएको फोहोर सरसफाई गरिएको हो । रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघ गुल्मी, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ पराल्मी र गुल्मीदरवार गाउँपालिका वडा नम्बर–१ वलिथुमका जनप्रतिनिधी, क्लवका प्रतिनिधीहरुको सहभागितामा सरसफाई गरिएको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए ।
रेसुङ्गा क्षेत्रको पोखरीदेखि यज्ञशाला मन्दिरसम्ममा रहेका प्लाष्टिक तथा अन्य फोहोर सामग्रीहरु सरसफाई गरिएको थियो । मेलाको क्रममा पोखरीदेखि यज्ञशाला मन्दिर क्षेत्रसम्म पलाष्टीक जन्य फोहोरहरु धेरै भएकाले सरसफाई गरिएको पन्थीले बताए । रेसुङ्गा क्षेत्रको सौन्र्दयमा कत्ति पनि कमी नआओस् भनेर सबै मिलेर सरसफाई गरिएको उनको भनाई छ । अहिले रेसुङ्गा क्षेत्रको पोखरीदेखि भ्युटावरसम्म सिँढी निर्माण गरेर आकर्षक बनाइएको छ । रेसुङ्गामा साउन भर एक महिने मेला लाग्ने गर्दछ । मेलामा विभिन्न स्थानबाट अवलोकन कर्ताहरु आउने गर्नाले पनि फोहोर हुने गर्दछ । रेसुङ्गा क्षेत्रमा साउन महिना बाहेक अन्य दिनमा आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकन गर्न पुग्दछन् । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि श्रष्यश्रृंगले तपस्या गरेको र आध्यात्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ विभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरीदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्यावलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुका लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । –अनिल खत्री