Shittalpati
‘विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक’

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । सोमबार तानसेन बहुमुखी क्याम्पसको ३३ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री रानाले अहिलेको आवश्यकता विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने सीप र संस्कार सहितको प्राविधिक शिक्षा रहेको बताएका हुन् ।

उनले अहिलेको युग प्राविधिक ज्ञान र संस्कार सहितको युग भएकाले सोही अनुरुप शिक्षालाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । मन्त्री रानाले भने ‘सीप र संस्कारयुक्त शिक्षाले मात्र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ, तसर्थ त्यस्तो खालको शिक्षा नीति ल्याउनुपर्छ ।’ उनले पछिल्लो समय हरेक क्षेत्रमा संस्कार र नैतिकता भन्ने कुरा नै हराइसकेकाले अबका विद्यार्थीहरुमा संस्कारिक शिक्षा दिनुपर्ने औल्याए । मन्त्री रानाले दक्ष जनशक्ति उत्पादन गरी देशको बेरोजगार समस्या समाधानका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने समेत बताए । उनले विद्यालय तथा क्याम्पसहरुमा विद्यार्थीको संख्या खट्दै गएको प्रति लक्षित गर्दै संख्यात्मक भन्दा पनि गुणात्मक पक्षमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गरे । मन्त्री रानाले विद्यार्थीहरुलाई नैतिकवान र अनुशासित भई हरेक क्षेत्रमा अब्बल बन्न समेत आग्रह गरे ।

उनले विद्यार्थीहरु किताबी ज्ञानमा मात्र सिमित नभई सामाजिक, राजनीतिक क्षेत्रमा समेत आफुहरुलाई समर्पित गर्न सक्ने बताए । मन्त्री रानाले भने ‘पछिल्लो समय राजनीतिक दलप्रति धेरैको वितृष्ण पैदा भएको छ, हरेक नीतिहरुको मूल मियो भनेकै राजनीतिक हो । राजनीतिकलाई स्वच्छ , मर्यादित बनाउन विद्यार्थीहरुले समेत चासो देखाउनु पर्दछ ।’ राजनीतिक दलहरुलाई खबरदार गर्न पनि विद्यार्थीहरुले राजनीति प्रति चासो र चिन्तन गर्नुपर्ने उनले बताए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पाको शैक्षिक विकासका लागि राजनीतिक दल र सबै सरोकारवाहरु बिच बहस र छलफल आवश्यक रहेको बताए । उनले विगतको शैक्षिक इतिहास विस्तार हराउँदै जान थालेकोले त्यसप्रति सम्बन्धित शैक्षिक संघसस्थाहरुले छलफल र बहस चलाउनु पर्ने औल्याए । नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षा नीतिमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले जिल्लाको शैक्षिक विकासमा जिल्लाका राजनीतिक दलहरु चिन्तित रहेको बताए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरै, माओवादी केन्द्रका नेता मथुरा ढकाल, राष्ट्रिय जनमोर्चाकी नेतृ उमा सिंजाली, वडा अध्यक्ष प्रदीप खनाल, शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, नेपाल रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, पूर्व क्याम्पस प्रमुखहरु रामेश्वर बोजियम, राधेश्याम ज्ञवाली, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, न्यू होराइजन माविका प्रिन्सिपल डाँसुराम पन्त, अभिभावक तथा अक्षयकोष दाता नविन थापा, श्रीनगर यातायात प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतम, विद्यार्थी मनिष मल्ल ठकुरी लगायतले क्याम्पसको शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख पुष्करराज रेग्मीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनदेखि प्राविधिक शिक्षाको व्यवस्था गर्दै क्याम्पसलाई सामुदायिक शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने बताए । कार्यक्रममा उत्कृष्ट प्राध्यापकका रुपमा निवर्तमान क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली र विभिन्न विधामा विजयी प्रतियोगीहरुलाई सम्म्मान तथा पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा क्याम्पसले वार्षिक विशेषाङ्क समेत विमोचन गरिएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद पन्तको अध्यक्षता, सहायक क्याम्पस प्रमुख अरुण ज्ञवालीको स्वागत, उपप्राध्यापक श्रीधर कुमार उपाध्यायको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update