Shittalpati
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल

हाम्रा संवाददाता
पाल्पा, नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारहरुको क्षमता विकासका लागि नेपाल प्रेस युनियनले देशभर तालिम चलाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लम्सालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि युनियनले पाल्पा सहित देशभर तालिम सञ्चालन गर्ने बताएका हुन् ।

युनियन केन्द्रीय समितिले व्यवसायिक पत्रकारिता गर्न चाहने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्ने उनले बताए । सभापति लम्सालले भने ‘विगतका अञ्चल, केन्द्रीय र जिल्ला समितिहरुले क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्न नसकेको कुरा सत्य हो । विगतका सबै कुराहरु विर्सौं, कम्तीमा पनि यस आर्थिक वर्षमा पाल्पा शाखाले तीन वटा तालिम सञ्चालन गर्ने छ । त्यसका लागि केन्द्रीय नेतृत्वले सम्पूर्ण सहयोग गर्ने गरी काम गर्छ ।’ पत्रकारिता क्षेत्रलाई व्यवस्थित र व्यवसायिक पत्रकारिता गर्न चाहाने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पाल्पामा छिट्टै तीन वटा तालिमहरु सञ्चालन गर्ने गरी अगाडि बढ्न उनले पाल्पा शाखालाई अनुरोध समेत गरे ।

सभापति लम्सालले पत्रकारहरुलाई दण्डीत गर्ने गरी प्रदेश र संघीय सरकारहरुले कानुन बनाउन लागेकाले यो वर्ष पत्रकारहरुका लागि चुनौतीको समय रहेको बताए । उनले भने ‘पत्रकारलाई नियन्त्रण गर्ने, संकुचित बनाउने, हाम्रा विरुद्धमा कानुन निर्माण गरेर दण्ड सजायका कुरा गर्ने वर्षका रुपमा राज्य सञ्चालन गर्नेदेखि सबै प्रेस विरोधीहरु लागेका छन् । यो बेला हामी अत्यन्त सचेत हुन जरुरी छ ।’ ‘मिडिया काउन्सिल विधेयक पेश गर्दै गर्दा समाचार लेखेकै आधारमा १० लाख जरीवान, जेल जानुपर्ने, पत्रिका वर्गिकरण गर्ने जिम्मा सचिवले लिने जस्ता किसिमका विधेक तत्कालिन केपी शर्मा ओलीको नेतृत्वको सरकारका पालमा पेश भएको थियो । अहिले हामीले ति लगायत २१ वटा बुदाहरु संशोधन गरिसकेका छौं । अब हामी दण्ड सजायका कुरा र विधेयकमा सरकारले अंकुश लगाउने विषयहरु समेत हटाएका छौं ।’ पत्रकारहरुलाई निर्धक्क भएर समाचार लेख्न र पत्रकारिता पेशालाई थप व्यवस्थित र मर्यादित बनाएर लैजाने दिशामा युनियनको केन्द्रीय नेतृत्व सक्रिय भएर लाग्ने सभापति लम्सालले बताए । उनले फरक प्रसंगमा भने ‘पार्टीमा जस्तो प्रेस युनियनमा गुट–उपगुटको गन्धान नआउने र यदि कतै त्यस्तो भएको पाइएमा केन्द्रीय नेतृत्व अवाश्यक कारवाही गर्न बाध्य हुने छ ।’

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सभापति लम्साल सहित युनियनका नेताहरुलाई कार्यालयमा सम्मान तथा स्वागत गर्दै युनियन पाल्पा शाखाका सभापति भरत शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितिसँग सहकार्य गरी अगाडि बढ्ने बताए । उनले केन्द्रीय नेतृत्वले पाल्पामा तालिम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने विषय पाल्पाली पत्रकारहरुका लागि खुसीको कुरा रहेको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्त, युनियनका केन्द्रीय उपसभापति माधव अर्याल, युनियन पाल्पाका सल्लाहकार जगदीश भट्टराई, युनियनका पूर्व केन्द्रीय सदस्य विमल ज्ञवाली, युनियन रुपन्देहीका उपसभापति कविन्द्र नेपाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो । प्रेस युनियनका जिल्ला सभापति भरत शर्माको सभापतित्व, उपसभापति मन गहिरेको स्वागत र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update