पाल्पा, पेट्रोल तथा डिजेलको मूल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको हो । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ ।
त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ । हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ तथा डिजलको १ सय ७८ रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट मूल्य तय गर्नुपर्ने व्यवस्था छ । यद्यपि हाल निगमले पहिलेको सञ्चित घाटा देखाउँदै मूल्य घटेर आउँदा पनि समायोजनमा बेवास्ता गर्ने तर बढेर आउँदा बढाउने गरेको छ ।