Shittalpati
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा

पाल्पा, तीन दिनदेखिको लगातारको वर्षका कारण ठूलो जनधनको क्षति पुुगेको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले वितण्डा मच्याएको छ । शनिबार अछाम, कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला लगायतका स्थानमा बाढी, पहिरोले ठूलो जनधनको क्षति प¥याएको हो । गृह मन्त्रालयका अनुुसार शनिबार अवेरसम्म सुदूरपश्चिम प्रदेशको अछामका विभिन्न स्थानमा गएको पहिरोमा परी १७ जनाको ज्यान गएको छ भने छ जना अझै बेपत्ता छन् । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको छ ।
तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीमा १५ सय घर डुबानमा परेका छन् । साथै बाढीमा एक जना बेपत्ता भएका छन् । त्यहाँको वडा नम्बर ८ का सोनाफाँडा, दैलेखि टोल, भरतान टोल, मिलनपुर टोल र लालबोझीका गरी ४ सय घरधुरी, भजनी बजारका २५ घरधुरी, भजनी नगरपालिका वडा नम्बर ७ का शिविर टोल, गणेशमान टोल, दक्षिणपुरवा टोलका २ सय ५० घरधुरी डुबानमा परेका छन् । यस्तै जोशीपुर गाउँपालिकामा ४ सय घरधुरी, लम्कीचुहा नगरपालिकामा १४५ घरधुरी, कैलाली गाउँपालिकामा १ सय ७५ घरधुरी, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा ८०/८० घरधुरी डुबानमा परेका गृह मन्त्रालयले जनाएको छ । धनगढी नगरपालिकामा पनि १४ घरधुरी डुबानमा परेका छन् । यस्तै टीकापुर नगरपालिका वठा नम्बर ७ का ७० परिवार र जानकी गाउँपालिका ४ का ६० परिवार गरी १ सय ३० परिवार विस्थापित भएका छन् । उनीहरु, सामुदायीक भवन र आफन्तकोमा सरेको जनाएको छ । कैलालीमा कर्णाली, मोहना, पथरैया, कन्द्रा र खुटीया नदीहरुको जलस्तर बढेको छ । पहाडि जिल्लातिर वर्षा भईरहेकाले तराईमा नदीहरुको जलस्तर बढेको हो । कञ्चनपुरमा पर्ने महाकाली नदीमा पनि जलस्तर बढेपछि नेपाल भारत सीमा नाका बनबसा बैराजमा ठूुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
अविरल वर्षापछि कञ्चनपुरमा बनहरा र दोदा नदीमा आएको बाढीले दर्जनौं बस्तीहरु डुबानमा परेका छन् । रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन् । दोदा नदीको बाढी बस्तीमा पस्दा लालझाडी गाउँपालिका पूरै डुबानमा परेकोछ । वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सिया लगायतका बस्तीहरुमा डेढ सय घर परिवार डुबानका कारण विस्थापित भएको जनाइएको छ । यसैगरी कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्ती शिविरमा मोहना नदी पस्दा ७० परिवार विस्थापित भएका छन् । कृष्णपुर ४ मा मछेली नदीको बाढी बस्तीमा पस्दा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकको विद्यालयमा राखिएको छ ।
यस्तै बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुुन् । जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update