Shittalpati
पुल नबन्दा सास्ती

हाम्रा संवददाता
गुल्मी, मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा रहेका खहरे खोलामा पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यहाँका सडकमा कालोपत्रे भएको तीन वर्ष बितिसक्दा समेत यहाँ पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्नुपरेको हो । विशेषगरी साउनदेखि कार्तिक नलागेसम्म यहाँका खहरे खोलाले यात्रु तथा मालबाहक गाडीलाई रोक्छ । यहाँको सडकबाट सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म यात्रा गर्ने यात्रु र सवारी साधनहरु खोलामा पुल नबन्दा लामो समय खोला किनारमै बस्नुपर्ने बाध्यता छ । ‘डोजर लगाएर गाडी नतारिएसम्म यात्रुहरु खोला किनारमै बस्छन्,’ स्थानीय प्रदिप अर्यालले भने, ‘बटुवाहरु पनि जोखिम मोलेर खोला तर्न बाध्य छन् ।’ खहरे खोलाका कारण दैनिक सयौं यात्रुले दुःख पाइरहेको अर्याल बताउँछन् । ‘उपचारका लागि जिल्ला अस्पताल जाने बिरामीले समेत खोलाकै कारण ज्यान गुमाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘सडक कालोपत्रे भएर पनि उप्किसक्यो, पुल भने अझैं बनेन् ।’ यस सडक खण्डाका गुर्वा, हुलाके, धनार्जी, फुुलबारी र घमिरमा खहरे खोलाहरु रहेका छन् । राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । तर यसबीचमा पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्नु परिरहेको हो ।
चार स्थानमा पुल बन्दै
कालो पत्रे भएको तीन वर्ष बितिसक्दा बल्ल यहाँ पुल बन्न लागेका छन् । मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख सशांक मिश्रले अहिले हुलाके, धनार्जी, फूलबारी र घमिर खहरे खोलाका चार वटा पुलको काम सुरु गरेको बताए । वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनको भनाई छ । अहिले पुल नहुँदा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको स्थानीय विद्यार्थी बसु क्षेत्रीले बताइन् । पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाई हुने गरेको उनको भनाई छ । पुल नहँुदा धेरै जोखिम बढेको स्थानीय चक्रबन्धु भुसालले बताए । उनले समयमै पुल निर्माण सबैले खबरदारी गर्नुपर्ने बताए । यहाँका चार स्थानमा पुल निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएका छन् । पन्त निर्माण सेवाले फूलवारी र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ । हुलाके र धनार्जी खोलामा पनि पुल निर्माणका लागि सुनिल समिर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का सम्झौता गरेको मदन भण्डारी राजमार्गका इन्जिनियर दुर्गा गौतमले बताए । घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फूलबारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको इन्जिनियर गौतमले बताए । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुने छ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुने छ ।

त्यस्तै धनार्जी खोलामा पुल निर्माणका लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणका लागि ५ करोड ७९ लाख ५३ हजारको लागतमा निर्माण हुनेछ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाइको हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने इन्जिनियर गौतमले बताए । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसक्नु मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update