Shittalpati
नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका

मध्यविन्दु (नवलपरासीपूर्व), नवलपरासीपूर्वमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । मध्यविन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्तरुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरु खुसी भएका हुन् । अरुको साहाराविना हिँडडुल गर्न समस्या हुनेहरु कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर हुन थालेका छन् ।

लमजुङका २७ वर्षीय विकास तामाङको जन्मँदा नै बायाँ खुट्टा थिएन । हिँडडुल गर्न समस्या हुँदा जीवनदेखि नै निराश लाग्दै आएका उनी बताउन्छन् । विसं २०७५ माघ ३ मा सहज अस्पताल गँैडाकोट र चौधरी फाउण्डेसनले राखेको कृत्रिम हातखुट्टा जडान शिविरमा तामाङले खट्टा राखे ।

खुट्टा नभएर केही गर्न सकिन्न कि भनेर निरास भएका उनले अहिले कृत्रिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिक जीवन गुजारा गर्न सक्ने भएका छन् । अरुको साहारामा हिँड्नुपर्ने विकास अहिले उक्त अस्पतालको सिजी सवल केन्द्रमा कृत्रिम हातखुट्टा बनाउने र जडान गर्ने कार्यमा व्यस्त छन् ।

आर्थिक अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रलाई उक्त अस्पताल र चौधरी फाउण्डेसनको सहकार्यमा २०७८ फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको हो । दुर्घटना भएर वा अन्य कुनै समस्याका कारण हातखुट्टा गुमाएका ८४ जनाले अहिलेसम्म सवल केन्द्रबाट कृत्रिम हातखुट्टा जडान गरेको सवल केन्द्रका स्थानीय स्रोत व्यक्ति दिपक सिं केसी बतान्छन् ।

यहाँ देशको विभिन्न जिल्लाबाट कृत्रिम हातखुट्टा लगाउन आउने गर्दछन् । चौधरी फाउण्डेसनले भगवान् महावीर विकलाङ्ग सहायता समिति र भारतीय दूतावाससँगको सहकार्यमा नेपालमा कृत्रिम हातखुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । कृत्रिमरुपमा जडान गरिएको अङ्गले आत्मविश्वाससँगै स्वरोजगार बन्न सहयोग पुगेको सिजी सवल केन्द्रमा सेवा लिनेको भनाइ छ । –रासस

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update