पाल्पा, पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै छ । औँसी तिथि श्राद्ध गरी सोह्रश्राद्ध समापन गर्न लागिएको हो । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ ।
कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिमा गरिने महालय (पार्वण) श्राद्धलाई सोह्रश्राद्ध भन्ने गरिन्छ । भदौ २६ गतेदेखि यो पर्व शुरु भएको थियो । सोह्रश्राद्धको अन्तिम दिन अइतबार तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने शास्त्रीय मान्यता छ ।
पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्व बोकेका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दै छन् । आर्थिक अवस्था राम्रो हुनेहरु तीर्थश्राद्ध गर्न भारतको विहार राज्यमा पर्ने पुनपुन र गयास्थित फाल्गु नदी किनारमा जाने गर्छन् । शारीरिक र अन्य आर्थिक कारणले तीर्थ जान नसक्नेले भने घरैमा तर्पण र पिण्डदान गरेर पितृस्मरण गर्छन् ।