शर्मिला थापा मगर
पाल्पा, प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घर–घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतिक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौं बाहेक अरु अन्न रोप्ने चलन छैन । यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन विहान सबेरै एक/एक तीर्थमा गई स्नान गर्नुका साथै एक/एक शक्ति पीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ । विजया दशमीको दिन गुह्येवरी माईको पूजा अर्चना गरी नवरात्री मेला समापन गर्दछन् । नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्री मेला भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम भएकाले दुर्गा पूजा र दसैं पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । घटस्थापनाका लागि आज बिहान १०ः२३ बजेको साइत शुभ रहेको नेपाल पञ्चा निर्णायक विकास समितिले जनाएको छ ।
यस्तै यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।