हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दु धर्मावलम्बीको श्रीस्वस्थानी ब्रतकथा तथा माधवनारायणको पूजा आराधना गरी शुक्रबारबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
एक भक्त, एक चित्त रही महिना दिनसम्म स्वस्थानीको ब्रत बस्ने गरिन्छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी गरिएको स्वस्थानी ब्रत कलीयुगमा आफ्नो मनोकामना पूरा हुने तथा आफ्नो परिवारको सुस्वास्थ्य र दीर्घायूको लागि बस्ने गरिन्छ । श्रीस्वस्थानीको ब्रत गर्ने पुरुष वा स्त्रीले पौषशुक्ल पूर्णिमाको दिनदेखि आरम्भ गर्नु पर्दछ ।
ब्रत शुरु गर्नुको अघिल्लो दिन हात खुट्टाका नङ काटी पवित्र भएर एकछाक हबिष्यान्न भोजन गरी, भूमीमा सयन गर्नुपर्दछ । रात्रीमा जाग्राम बस्नु, स्वस्थानी परमेश्वरीलाई मनले सम्झनु । १०८ को दरले तयार पारेका सामग्रीहरु मध्ये १०० का दरले आफूले फलाहार गर्नु र ८ का दरले बाँकी रहेका सामग्री आफ्ना पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा पनि नभए जुन मनोकामनाले ब्रत गरिएको हो त्यो पूर्ण होस् भनी गंगामा बगाई दिनुपर्दछ । श्रीस्वस्थानी ब्रतकथामा आसुरी शक्ति र दैवि शक्ति बीचको भेद बडो रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
साथै अरुको भलाईको लागि काम गर्ने र अर्काको कुभलो सोची आफ्ना मात्र गोजी भर्न खोज्ने मानिस बीचको प्रसंग देखाएर परोपकार पूण्याय, पापाय परपिडनम्लाई चरितार्थ पारिएको छ । लगनशील भएर निरन्तर आफ्नो काम गरेमा जस्तो असम्भब कुरा पनि सम्भब हुनसक्ने, मिहेनतको फल सबैले पाउने, शक्तिको दुरुपयोग गर्न नहुने, दुरुपयोग गरे दानवको झैं अस्तित्व मेटिने विषयलाई यहाँ बढी महत्व दिइएको छ । साथै यो तत्कालिन समाजको त्यो ऐना हो, जसले बालबिवाह विरोधी जनचेतना जगाएको छ ।
ठूलै भएपनि यौन दुराचारीले सजाय पाएको देखाएको छ, पर्यावरणीय संरक्षणका लागि रुख, नदी, शिला, आदिको महत्व देखाईएको छ । विपद् पर्दा धैर्य र लगनशिलताले काम गर्दा ठूलो मान्छे हुन सकिने कुरा यहाँ महत्वका साथ उठान गरिएको छ । कथाले घमण्ड र अनावश्यक लोभ गर्नुहँदैन भन्ने कुरालाई जोड तोडका साथ महत्व दिएको छ ।