पाल्पा, पाल्पामा गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ । सोमबार गठबन्धन सम्बद्ध दलहरूले संयुक्त अपिल जारी गर्दै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।
‘उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछौं’ संयुक्त अपिलमा भनिएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विक नेकपा एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डेय र राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले हस्ताक्षर गरेको संयुक्त अपिलमा दुई–दुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’को राजनीति विरुद्ध सहमति र सहकार्यको जगमा गठबन्धन भएको भन्दै आफ्ना उम्मेदवारहरूलाई मत हाल्न आग्रह गरिएको छ । ‘राजनीतिक स्थिरता कायम राख्दै सुशासन र समृद्धिका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनुपर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो’ अपिलमा भनिएको छ । विगतमा काँग्रेस, एमाले माओवादी एक्कलैले जिते पनि देशमा समृद्धि, विकास र सुशासन नभएपछि अहिले गठबन्धनका माध्यमबाट मुलुकको समृद्धि र विकासका लागि गठबन्धन अहिलेको आवश्यकता रहेकाले गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी बनाउन गठबन्धन दलका संयोजक हिमालदत्त श्रेष्ठले आग्रह गरे । गठबन्धन दलका उम्मेदवारहरुले पत्रकारहरुसँग अन्तक्र्रिया समेत गरेका छन् । उनीहरुले जिल्लाको विकास र समृद्धिका लागि आफुहरुको उम्मेदवारी रहेको बताए ।