Shittalpati
पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया

पाल्पा, पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा उम्मेदवारहरुले मंगलबार तासेनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।

उनीहरुले पत्रकारहरुसँग आगामी निर्वाचनका लागि सुझाव र सल्लाह मागेका छन् । पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिर्दै प्रतिनिधि सभाका उम्मेदवार ज्ञानबहादुर गाहाले पत्रकारहरुको सुझावहरुलाई आत्मसाथ गर्दै आफुहरु अगाडि बढ्ने बताए । उनले विकास र समृद्धिको क्षेत्रमा पछाडी रहेको पाल्पा क्षेत्र नं १ को विकासका लागि आफुले चुनावी मैदानमा उत्रिएको धारणा व्यक्त गरे । उनले पटक –पटक नेकपा एमालेका उम्मेदवारलाई विजय बनाएर पठाए पनि यस क्षेत्रको विकास नभएको भन्दै आफुहरु संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन एक भएर यस क्षेत्रको विकास र समृद्धिका लागि अगाडि बढेको बताए । प्रतिनिधि सभाको समानुपातिकतर्फका उम्मेदवार सन्दीप रानाले पाल्पालाई शैक्षिक, पर्यटकीय, धार्मिक र सांस्कृतिक क्षेत्रको रुपमा विकास गरी अन्तर्राष्ट्रिस्तरमा चिनाउने गरी काम गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । उनले रामपुर आफैमा संभावना बोकेको शहर भएकाले आफुहरुले विजय प्राप्त गरेमा त्यसको विकास र विस्तारमा दीर्घकालीन योजना बनाएर काम गर्ने बताए ।

त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख)का शंकर खनाल, समानुपातिक तर्फका उम्मेदवार तारा रसाइली, जित बहादुर थापा लगायतका उम्मेदवारहरुले क्षेत्र नं .१ का समस्याहरु आफुहरुले राम्रोसँग बुझेकाले त्यसका समाधानका लागि पनि आफुहरुसँगै भिजन र ठोस योजना रहेको बताए ।

कार्यक्रममा गठबन्धन दलका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विक लगायले दुई–दुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’को राजनीति विरुद्ध सहमति र सहकार्यको जगमा गठबन्धन भएको भन्दै आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे । कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा, सचिव रामचन्द्र रायमाझी, पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपाने, प्रेस युनियनका कोषाध्यक्ष विष्णु खनाल, राससका तानसेन संवाददाता विष्णु घिमिरे,कन्दरा न्यूज डटकमका सम्पादक हरी बारघरे लगायतले विद्युत, सडक, खानेपानी लगायतका समस्या समाधानमा ध्यान दिन उम्मेदवारहरुलाई आग्रह गरेका छन् । कार्यक्रम गठबन्धनका प्रचार प्रसार समितिका संयोजक तथा नेपाली काँग्रेस उपसभापति झपेन्द्र गरिहेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update