पाल्पा, पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवारहरुले पाल्पा क्षेत्र नं १ को विकास र समृद्धिका लागि आफुहरुको उम्मेदवारी रहेको बताएका छन् । मंगलबार तासेनमा पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुले विकास र समृद्धिको क्षेत्रमा पछाडी परेको यस क्षेत्रको विकास लागि आफुहरुले उम्मेदवारी दिएको बताएका हुन् ।
कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिर्दै प्रतिनिधि सभाका उम्मेदवार ज्ञानबहादुर गाहाले विकास र समृद्धिको क्षेत्रमा पछाडी रहेको पाल्पा क्षेत्र नं १ को विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । उनले पटक–पटक नेकपा एमालेका उम्मेदवारलाई विजय बनाएर पठाए पनि यस क्षेत्रको विकास नभएको भन्दै आफुहरु संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन एक भएर यस क्षेत्रको विकास र समृद्धिका लागि अगाडि बढेको बताए । प्रतिनिधि सभाका उम्मेदवार गाहाले क्षेत्र नं १ मा विकासका प्रसस्त सम्भावना रहेकाले त्यसको उचित पहिचान गरी समृद्धि हासिल गर्न एक पटक गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी बनाउने वातावरण सिर्जना गरिदिन पत्रकारहरुलाई आग्रह समेत गरे । प्रतिनिधि सभाको समानुपातिकतर्फका उम्मेदवार सन्दीप रानाले पाल्पालाई शैक्षिक, पर्यटकीय, धार्मिक र सांस्कृतिक क्षेत्रको रुपमा विकास गरी अन्तर्राष्ट्रिस्तरमा चिनाउने गरी काम गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । उनले रामपुर आफैमा संभावना बोकेको शहर भएकाले आफुहरुले विजय प्राप्त गरेमा त्यसको विकास र विस्तारमा दीर्घकालीन योजना बनाएर काम गर्ने बताए ।
त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख)का शंकर खनाल, समानुपातिक तर्फका उम्मेदवार तारा रसाइली, जितबहादुर थापा लगायतका उम्मेदवारहरुले क्षेत्र नं.१ का समस्याहरु आफुहरुले राम्रोसँग बुझेकाले त्यसका समाधानका लागि पनि आफुहरुसँगै भिजन र ठोस योजना रहेको बताए । उनीहरुले उत्साहका साथ निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि सबैले सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा गठबन्धन दलका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विक लगायतले दुई–दुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’को राजनीति विरुद्ध सहमति र सहकार्यको जगमा गठबन्धन भएको भन्दै आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे । उनीहरुले राजनीतिक स्थिरता कायम राख्दै सुशासन र समृद्धिका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनुपर्ने दायित्व बोध गरी गठबन्धन कायम गरिएको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा, सचिव रामचन्द्र रायमाझी, पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपाने, प्रेस युनियनका कोषाध्यक्ष विष्णु खनाल, राससका तानसेन संवाददाता विष्णु घिमिरे,कन्दरा न्यूज डटकमका सम्पादक हरी बारघरे लगायतले विद्युत, सडक, खानेपानी लगायतका समस्या समाधानमा ध्यान दिन उम्मेदवारहरुलाई आग्रह गरेका छन् । कार्यक्रम गठबन्धनका प्रचार प्रसार समितिका संयोजक तथा नेपाली काँग्रेस उपसभापति झपेन्द्र गरिहेको सञ्चालनमा भएको थियो ।