Shittalpati
पाल्पा र गुल्मीमा रोचक बन्दै निर्वाचन : पहिले सहयोद्वा, अहिले प्रतिस्पर्धी

रामचन्द्र रायमाझी
पाल्पा, आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पाल्पा र गुल्मीमा रोचक हुुने देखिएको छ । यस अघि एउटै पार्टीमा रहेर संघर्ष गर्दै आएका नेताहरु बिच अहिले फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि यहाँको निर्वाचन विगतका भन्दा फरक र रोचक बन्ने देखिएको हो । पाल्पामा प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नं. २ मा एउटै पार्टीमा रहेर संघर्ष गर्दै आएका सहयोद्वाहरु बिच प्रतिस्पर्धा हुुन लागेको छ । यहाँ प्रतिनिधिसभाका लागि एमाले र एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । संघीय निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट ठाकुर गैर र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले उम्मेदवारी दर्ता गरेका छन् ।

गैरे नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन् भने पाण्डेय एमाले छाडेर नेकपा एकीकृत समाजवादीतर्फ लागेका हुन् । उनी एसका लुम्बिनी प्रदेश कमिटिका संयोजक तथा निवर्तमान सांसद समेत हुन् । पाण्डेयले निरन्तर टिकट पाएकै कारण गैरेको संसद् यात्रा अवरुद्ध भइरहेका बेला अहिले भने यी दुुई नेताहरू दुुई फरक दलबाट चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा पाण्डेयलाई जिताउने चुनावी कमाण्डर गैरे यसपटक आफू जित्ने गरी चुनावमा होमिएका छन् । उनी संसदीय राजनीतिमा पहिलोपटक आएका हुुन् । पाण्डेय योसहित छैटौँ पटक उम्मेदवार बनेका हुन् हो । उनी २०५१, २०५६, २०६४, २०७० र २०७४ मा उम्मेदवार भएका थिए । पाण्डेयले २०७४ मा भने दुई क्षेत्र बनेपछि क्षेत्र नम्बर २ बाट टिकट ल्याएका थिए । यसपटक पनि उनले सत्ता गठबन्धनका तर्फबाट टिकट ल्याएका छन् । ०७४ अघि तीनवटा क्षेत्र भएका बेला गैरे भने पाण्डेयकै क्षेत्रका भएकाले संसदीय टिकट पाउन उनलाई मुस्किल परेको थियो । स्थानीय तहमा कमजोर देखिएका एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न काँग्रेस, माओवादी रराष्ट्रिय जनमोर्चाको साथ छ । एकीकृत समाजवादीका पाण्डेय र एमालेबाट अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका गैरेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

उता गुल्मी क्षेत्र नम्बर २ मा पनि पूर्व–सहकर्मीबीच प्रतिस्पर्धा हुँदै छ । नेकपा एमालेका गोकर्ण विष्ट र नेकपा एसकी रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुन लागेको हो । विष्ट र झाँक्री अघिल्लो निर्वाचनमा सँगसँगै सूर्य चिन्हमा मत माग्दै गाउँ पुगेका थिए । यसपटक यी दुई सहयोद्वा बिच नै प्रतिस्पर्धा हुन लागेको हो । विष्ट नेकपा एमालेका सचिव हुन भने झाँक्री एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएकी हुन् । विष्ट २०५६ देखि लगातार उम्मेदवार बन्दै आएका छन् । उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा विजयी भएका थिए । यस्तै गुल्मीकै प्रदेशसभा २ (ख) मा पनि माओवादी केन्द्र र माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका सहयोद्वाहरु बिच प्रतिस्पर्धा हुने भएको छ । यहाँ नेकपा माओवादी केन्द्रका तर्फबाट बुद्धि जिसी र माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका दिनेश पन्थीले उम्मेदवारी दिएका छन् । पन्थी २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए । तर नेकपा विभाजनपछि उनी एमालेतर्फ लागेपछि उनको पद खोसिएको थियो । चुनावको मिति नजिकिएसँगै नेताहरु आफ्नो क्षेत्रमा माहोल बनाउन सक्रिय भएर लागेका छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा होमिएको काँग्रेसले यसपटक गठबन्धनको साथ पाएको छ भने नेकपा एमाले एक्लै चुनावमा होमिने तयारीमा छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update