पाल्पा, जिल्लाका विभिन्न स्थानबाट सवारी साधनहरुले मनपरी भाडा लिएको गुनासो बढेपछि भाडा समायोजन गरिएको छ । जिल्लाको तानसेन नगरपालिकामा २ सय भन्दा बढी नागरिकले भाडाका सवारी साधनले यात्रुहरुलाई ठगी गरेको उजुरी दिएपछि सर्वपक्षीय सरोकारवालाहरुको बैठक राखेर भाडा समायोजन गरिएको तानसेन ९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी गराए । उनले सामाजिक सञ्जालमा वडा मार्फत् प्राप्त जनगुनासोलाई समन्वय र सहजीकरण गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन् ।
भाडाका सार्वजनिक सवारी साधनको भाडा दर महँगो भएको गुनासोसहितको ध्यानाकर्षण पत्रका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख र तानसेन नगरपालिकाका प्रमुखलाई वडा कार्यालयले जनगुनासो सम्बोधन गरिदिन अनुरोध गरेपछि भाडा समायोजन गरिएको हो । जिल्ला समन्वय प्रमुख टंकनाथ खनालको अध्यक्षतामा बसेको बैठकले बस भाडा समायोजन सिफारिश र नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अटो भाडा समायोजन गर्ने निर्णय गरेको छ । नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले तानसेन नगरपालिकामा दर्ता भई रुट परमिट प्राप्त अटो रिक्सा (टेम्पो) ले बाँसटारी कलष्टरबाट सञ्चालन हुने बुढी तिनाउ सम्मको भाडा दर चढेपछि सुरुको १ किमीसम्म २५ रुपैयाँ र थप प्रति किमी पक्की सडकमा १० र कच्ची सडकमा १५ का दरले थप रकम लिने गरी भाडा समायोजन गरिएको छ । तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई तत्कालै कारवाही गरिने समेत बताइएको छ । यस्तै जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा बसेको बैठकले पाल्पा जिल्ला तथा अन्य जिल्लासँग जोडिएका सडकमा सञ्चालन हुने यातायातमा अधिकतम भाडादर निर्धारण गरी श्रम तथा यातायात व्यवस्था मन्त्रालय बुटवल सिफारिस गर्ने निर्णय गरेको छ ।
सिफारिस अनुसार पक्की सडकको हकमा तानसेन–बुटवल १ सय ५६, तानसेन–रामपुर ३ सय ६ रुपैयाँ, तानसेन–रिडी १ सय ५०, तानसेन–रानीमहल ८४.८ रुपैंयाँ तोकिएको छ । यस्तै भित्री पक्की सडक तानसेन–रामपुर ३ सय ५२, तानसेन–झडेवा १ सय ६८, तानसेन–हार्थोक २ सय १३, तानसेन–दर्लम ८१ रुपैयाँ भाडा समायोजन गरिएको छ । यस्तै कच्चि सडकमा प्रति किलोमिटर १२ रुपैयाँको दरले भाडा निर्धारणका लागि सिफारिस गरिएको छ । डिलक्स गाडीको हकमा भने नेपाल सरकारले निर्धारण गरे बोमोजिम नै हुनेछ । नगरक्षेत्रमा ४ किमीसम्म अधिकतम ३० रुपैयाँ भाडा लिन पाइनेछ ।