रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाका सरकारी कार्यालयमा पियनदेखि अधिकृत नै कार्यालयमा अनुपस्थित हुने गरेको भेटिएको छ । जिल्लास्थित सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयको छड्के अनुगमनका क्रममा यस्तो देखिएको हो । कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयको गुनासोपछि प्रशासनले बुधबार छड्के अनुगमन गरेको थियो । यहाँका १३ वटा कार्यालयमा गरिएको अनुगमनमा ८ वटा कार्यालयका २७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । १२ जनाको दरबन्दी रहेको सुन्तला जात फलफूल विकास केन्द्रमा ६ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा हरिप्रसाद पन्थीले जानकारी दिए । यहाँका कर्मचारी कार्यालय पोशाकमा समेत नरहेको पाइयो । कार्यालयको वेवसाइड समेत राखिएको छैन । त्यस्तै १४ जनाको दरबन्दी रहेको सडकपूर्वाधार विकास कार्यालयमा पनि २ जना कर्मचारी अनुपस्थित रहेको पाइयो । यहाँ उपस्थित भएका कर्मचारीले समेत नियमित रुपमा हाजिर नै नगरेको नासु पन्थीले बताए । दरबन्दी अनुसार ३ जना कर्मचारी यहाँ अभाव देखिएको छ । यस्तै मालपोत कार्यालयमा एक जना नासु अनुपस्थित रहेको देखियो । यहाँ १९ जनाको दरबन्दी रहे पनि ९ जना मात्र पदपूर्ति गरिएको छ । मालपोतमा कर्मचारी आउन नमानेका कारण १० जनाको दरबन्दी खाली रहेको छ । कर्मचारी अभावमा काम गर्न असहज भएको कार्यालयले जनाएको छ ।
यस्तै अनुगमनका क्रममा कालिगण्डकी करिडोर परियोजना कार्यालयमा ७ जना, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा ५ जना, यातायात व्यवस्था सेवा कार्यालयमा २ जना, सडक डिभिजन कार्यालयमा २ जना र शहरी विकास तथा भवन कार्यालयमा २ जना कर्मचारी अनुपस्थित रहेको पाइयो । अनुपस्थित हुने अधिकांश कर्मचारीमा प्राविधिक अधिकृत, सुुब्बा, खरिदार, श्रेणीविहीन र लेखापाल रहेका छन् । दसैंको विदादेखि नै धेरैजसो कर्मचारीहरु कार्यालयमा हाजिर नभएको पाइएको छ । कार्यालयमा कर्मचारी नभए पछि सरकारी सेवा प्रभावित हुँदै आएको छ । कार्यालयमा उपस्थित नभएर नागरिकको सेवा प्रवाह प्रभावित पार्ने जोकोही कर्मचारी माथि पहिलो चरणमा स्पष्टीकरण सोधिने सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् । यहाँका अधिकांस कार्यालयले नियमित बैंठक समेत नगरेको पाइएको छ । कार्यालयहरुले आफ्ना सूचना र गतिविधिहरु पारदर्शी, सूचनामैत्री बनाउन वेवसाइडहरु निर्माण गरी अपडेट गर्नुपर्ने भए पनि यहाँका धेरैजसो कार्यालयहरुले वेवसाइड नै बनाएका छैनन् । बनाएका कार्यालयहरुले समेत नियमित अपडेट गरेका छैनन् । अनुगमनमा पुगेको टोलीले कर्मचारी हाजिरीलाई व्यवस्थित बनाउनुपर्ने, वेवसाइडहरु अपडेट गर्नुपर्ने, मासिक रुपमा बैंठक राख्नुुपर्ने, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरेको छ । प्रशासकिय अधिकृत यज्ञश्वर पन्थी र सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाको नेतृत्वमा गएको टोलीले छड्के अनुगमन गरेको हो ।