पाल्पा, मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका प्रत्यक्ष तर्फको मतपत्र छाप्न थालिएको छ । बिहीबारदेखि मतपत्र छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहनेछ । आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ । मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाई गरिरहेको छ । मतपत्र छपाईमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । आयोगले बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिरसकेको छ । उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइमा जुटेको हो । समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ ।
उम्मेदवार र दलले विज्ञापन गर्न पाउने
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार र राजनीतिक दलले आफ्नो घोषणापत्र र प्रतिबद्धता मतदातासम्म पुर्याउन सञ्चारमाध्यमबाट विज्ञापन गर्न पाउने भएका छन् । निर्वाचन आयोगले दल र उम्मेदवारले छुट्टाछुट्टै विज्ञापन गर्न पाउने प्रावधान आचारसंहितामा राखेको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार उम्मेदवारले हरेक दिन ७/७ इञ्च (करिब ८० सीसी) बराबरको विज्ञापन छाप्न पाउने छन् । उनीहरुले हरेक दिन निजी सञ्चारमाध्यममार्फत आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवारले न्यूनतम २५ देखि बढीमा ३३ लाख र प्रदेशसभाका उम्मेदवारले १५ देखि २३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । उम्मेदवारले निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इञ्चसम्म क्षेत्रफल भएको आधारमा एउटै रंगको पर्चा मात्रै छाप्न पाउँछन् ।