कृष्ण पोखरेल
पाल्पा, शुक्रबार दिउँसो तानसेन नगरपालिका– ३ तानसेन तम्घास सडक क्षेत्रको अप्पु भिलेज क्षेत्रमा सेना प्रहरीको बाक्लो उपस्थिति रह्यो । उक्त क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरु के नै भए भनि हेर्न पुग्नेको भिडभाड बढ्यो । मानिसहरुले निकै चाख दिएर सेना प्रहरीले गरेका गतिविधी अवलोकन गरे । बर्षा, पहिरो तथा सडक दुर्घटनाका कारण घाइते भएका, पुरिएका तथा भिर खोच तथा मानिसहरु सजिलै जान नसक्ने अवस्थामा घाइतेको सुरक्षित तरीकाबाट उद्दार गर्र्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा रेडक्रसकर्मीले गरेको पूर्व अभ्यासमा सहभागी यात्रुहरुले पनि ध्यान दिएर हेरे ।
पूर्व तयारी प्रदर्शनमा भिर तथा खोचमा फसेका घाइते व्यक्तिहरुलाई व्यवस्थित तरिकाबाट डोरी अथवा रसीको माध्यमबाट उद्दार गरिएको थियो । भिरमा फसेका व्यक्तिहरुलाई डोरीको माध्यमबाट नेपाली सेनाका जवानहरुले उद्दार गरी प्राथमिक उपचारसहित अस्पतालमा पुर्याएका थिए । विपद् प्रदर्शनमीमा उच्च पहाडी क्षेत्रको खोच तथा अग्ला पहाडमा फसेका व्यक्तिहरुलाई निश्चित भू–भाग वा रुख, पक्की चट्टानमा बलियो रसी वा डोरी बाधेर फसेका व्यक्तिहरुलाई उद्दार गरिएको थियो । खोचमा फसेका व्यक्तिलाई छिटो भन्दा छिटो उद्दार गर्न भिरालो भागमा समेत डोरीको माध्यमबाट छिटो उद्दार गरिएको अवस्था सर्वसाधारणलाई देखाइएको थियो । प्रर्दशनमा उद्दारमा खटिएका सुरक्षाकर्मीहरु मध्ये केही रसीको सहायताबाट घटना स्थलसम्म पुग्ने र घाइतेको उद्दार गरी प्राथमिक उपचार स्थलसम्म ल्याई एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने व्यवस्था गरिएको थियो । अर्काे तर्फ डोरीको माध्यमबाट एक स्थानबाट अर्काे स्थानमा झुण्डाएर घाइतेलाई एक्लै वा उद्दारकतांसँग संगै पठाएर खोच तथा पहाडमा फसेका व्यक्तिहरुलाई उद्दार गरियो ।
यो प्रक्रियाबाट खोच तथा भिरमा फसेका व्यक्तिलाई घटना स्थलको अवस्था हेरिकन तल माथि दुबै तर्फ घाइतेलाई उद्दार गर्न सकिने गरी प्रदर्शनमा देखाइएको थियो । बाढी पहिरोमा फसेका व्यक्ति, सडक दुर्घटनामा परी अफठया्रो भिरमा फसेका व्यक्ति , घाँस दाउरा गर्न जादा भिरमा अड्किएका व्यक्तिहरुको सुरक्षित उद्दार गर्ने गरी जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा नेपाली सेना दि फेमश महिन्द्र दल गण, शसस्त्र प्रहरी बल ३५ नंं गुल्म, जिल्ला प्रहरी कार्यालय पाल्पा, नेपाल रेडक्रस सोसाईटी पाल्पाको सहकार्यमा पूर्व अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उच्च पहाडी तथा खोचमा फसेका व्यक्तिहरुको सुरक्षित उद्दारका विषयमा रसी वा डोरीको सहायताबाट गरिने ६ किसिमको अभ्यास गरिएको थियो । यो अभ्यास सर्वसाधारणहरुलाई देखाइएकाले आगामी दिनमा पाल्पा जिल्ला भित्र यस्ता घटना घटेमा नेपाली सेना तत्काल उद्दारमा खटिने गणका गणपती बालमुकुन्द विष्टले बताए । यस्तो अभ्यासले सुरक्षाकर्मीहरुलाई पुनरताजगी भएको, सर्वसाधारण तथा यात्रुहरुले जानकारी पाएको र आगामी दिनमा पाल्पा जिल्ला भित्र यस्ता घटना भएमा सुरक्षाकर्मीहरुलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । जिल्ला प्रशानको आयोजना चालु आर्थिक बर्षमै आगलागी तथा नदी क्षेत्रमा गरिने उद्दारको पूर्व तयारी प्रदर्शन गरिएको थियो ।