पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । पालिकाले नागरिकहरुको सहजताका लागि वडाबाटै भत्ता दिने व्यवस्था मिलाएको हो । यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए । सबै नागरिकको पहुँचमा बैंकि सेवा नपुुग्दा भत्ता लिन असहज भएको अवस्थामा पालिकाले वडाबाटै भत्ता वितरण गर्न लागेको जनाएको छ ।
नागरिककहरुलाई सामाजिक सुरक्षा भत्ता लिनकै लागि बैंकमा आउन जान समस्या भएकाले वडाबाट भत्ता वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताईन् । वडामै बैंकका प्रतिनिधिहरु पुगेर बैकिङ प्रक्रियाबाटै भत्ता वितरण गरिनेछ । यसका लागि पालिकाले सबै समन्वय मिलाएको जनाएको छ । पालिकाले ९ वटै वडाका लागि भत्ता वितरण गरिने मिति र स्थान सहितको सूचना समेत प्रकाशन गरेको छ । वडा नं १ मा साविककै बैंकबाट भत्ता वितरणको व्यवस्था मिलाएको छ भने अन्य वडामा वडाबाट वितरण गर्ने पालिकाले जनाएको छ । पालिकाले वडा नं. २ मा कार्तिक ४ गते, वडा नं. ३ मा कार्तिक ३ गते, वडा नं. ४ मा असोज ३० गते, वडा नं. ५ मा असोज ३१ गते, वडा नं. ६ मा कार्तिक १ र २ गते, वडा नं. ७ मा असोज २८ गते, वडा नं. ८ मा असोज २९ गते, वडा नं. ९ मा पनि असोज २९ गते भत्ता वितरणको व्यवस्था मिलाएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले बताए । भत्ता लिन आउने नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र, लाभग्राहीको चेक बुक, लाभग्राही परिचयपत्र तथा पूर्ण अशक्तहरुको हकमा वडा कार्यालयको सिफारिस अनिवार्य ल्याउनुुपर्ने व्यवस्था रहेको प्रमुख अधिकृत घर्तीले बताए । पालिकाले सोही अवसरमा लाभ ग्राहीहरुको निःशुुल्क स्वास्थ्य परीक्षण समेत गरिने जनाएको छ ।