रामचन्द्र रायमाझी
पाल्पा, स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन् । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरु हुँदै आएका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । जनताका लागि, जनताद्वारा, जनताले शासन गर्ने यस्तो व्यवस्थामा उम्मेदवारी दिने वा आफूलाई मन परेको नेता चुन्न पाउने अधिकार हुन्छ । निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया नै हो तर जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रकारका हतकण्डा अपनाइन्छ । तर यस्ता कार्य रोक्नकै लागि निर्वाचन आचारसंहिता जारी गरिएको हुन्छ । आचरसंहिता राजनीतिक दल, उम्मेदवारदेखि सर्वसाधारण सबैलाई लागु हुन्छ । तर धेरैलाई आचरसंहिताका विषयमा जानकारी नै नभएका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त हुन सकिरहेको छैन । यस पटक पनि मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आचरसंहिता लागु गरेको छ । निर्वाचनलाई निष्पक्ष रूपमा सफल बनाउन सुसूचित नागरिकको सहभागिता पनि त्यत्तिकै आवश्यक छ ।
मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सबै क्षेत्र र वर्गका नागरिकहरुलाई निर्वाचन आचरसंहिताका विषयमा जानकारी, छलफल र बहस गराउँदै आएको छ । गत स्थानीय तहको निर्वाचनमा समेत निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेलेको विकास केन्द्रले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पनि पाल्पाका राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, विभिन्न संघ संस्थाका व्यक्ति र पत्रकारहरुलाई छुट्टाछट्टै राखी निर्वाचन आचरसंहिताका विषयमा जानकारी र सुसूचित गराउँदै आएको हो । केही दिन अघि राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, विभिन्न संघ संस्थाका व्यक्तिहरुसँग बसेर छलफल तथा अन्तक्र्रिया गरेको केन्द्रले सोमबार जिल्लाका पत्रकारहरुसँग स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठी गरेको छ ।
पाल्पा विकास केन्द्र, विजय विकास स्रोत केन्द्र नवलपरासीको आयोजना र पत्रकार महासंघ पाल्पाको सहकार्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने कार्यमा पाल्पा विकास केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निर्वाचन आयोगले जारी गरेको आचरसंहिताको पालना गर्न, गराउन र नगरेकाहरुलाई खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गरे । प्रजिअ पन्तले स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय ढंगबाट पत्रकारले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । सरकारको चौथो अंग पत्रकार भएकाले निर्वाचनलाई मर्यादित बनाउने दिशामा महत्वपूर्ण भूमिका रहनेमा उनले विश्वास व्यक्त गरे । प्रजिअ पन्तले जिल्लामा निर्वाचनलाई शान्त र मर्यादित बनाउने कार्यमा आफुहरु सक्रियताका साथ लाग्ने बताए । उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको समेत जानकारी गराए । उनका अनुसार पाल्पामा १ सय १८ मदानस्थल र २ सय ४६ मतदान केन्द्र रहेका छन् । यहाँ गत निर्वाचनमा भएका १० वटा निर्वाचनस्थल सारिएको प्रजिअ पन्तले बताए । उनका अनुसार जिल्लामा २९ वटा अतिसंवेदनशील मतदानस्थल रहेका छन् ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निष्पक्ष निर्वाचनका लागि आचरसंहिता पालना र कार्यान्वयनमा वाचडगको रुपमा काम गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले भने ‘पत्रकार आफैले पनि आचसंहिताको पालना गर्दै उल्लङ्घन गर्नेहरुलाई खबरदारी गर्ने काममा भूमिका खेलिदिनुुहोस् ।’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले निर्वाचनलाई मर्यादिन बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । पत्रकारले सधैँ तटस्थ भूमिका प्रदर्शन गर्नुपर्ने र निर्वाचनका बेला अझ त्यसको महत्व रहेको उल्लेख गर्दै उनले भने ‘पत्रकारले कुनै पार्टीको प्रचार–प्रसार गर्न हुँदैन, पत्रकार माथि कसैले पनि औँला ठड्याउने अवस्था आउन नदिन सजग हुनुपर्छ । तटस्थ भूमिका प्रदर्शन गर्नेतर्फ सचेत हुनुपर्छ ।’ अध्यक्ष रानाले निर्वाचनका बेला विना दर्ता भएका मिडियाहरुको समेत सक्रियता बढ्ने भएकाले त्यसतर्फ ध्यान पनि आग्रह गरे । दर्ता गरेर मात्र मिडिया चलाउन उनले सबै पत्रकारहरुलाई आग्रह गरे । पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले पत्रकार स्वतन्त्र भएकाले कुनै पार्टी र उम्मेदवारको पक्षमा समाचार सम्प्रेषण नगर्न आग्रह गरे । उनले पेशालाई मर्यादित बनाउने काम गर्नु पर्ने बताए । कोही कतै आचरसंहिता उल्लङ्घन भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन समेत अध्यक्ष पोखरेलले पत्रकारहरुलाई आग्रह गरे । विजय विकास स्रोत केन्द्रका संयोजक आदर्श सिक्देलले सुशासन र जनजीविकाका क्षेत्रमा आफुहरुले काम गर्दै आएको बताए ।
पाल्पा विकास केन्द्रका सल्लाहकार गोपालप्रसाद बस्यालले निर्वाचनमा पत्रकारहरुको भूमिका र आचरसंहिताको विषयमा सहजीकरण गरेका थिए । उनले आचारसंहिता पालनामा अझै पनि सरोकारवाला गम्भीर हुन नसकेको भन्दै सबैले आचारसंहिता पालना र कार्यान्यन गराउने दिशामा पत्रकारले भूमिका खेलिदिन आग्रह गरे । पत्रकार एउटा पक्षको मात्र नभई सबै पक्षको हुनुपर्नेमा बस्यालले जोड दिए । केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले पत्रकारहरुले अरुलाई निगरानी गर्दै गर्दा आफु पनि आचारसंहिता भित्र बसेर काम गरेमा मात्र समाजमा पत्रकारको धर्म र मर्म रहने बताए । कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो । केन्द्रका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।