पाल्पा, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले विपद् व्यवस्थापनमा नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । विपद् जोखिम न्यूनिकरण स्थानीयकरण विषयक २ दिने अभिमूखिकरण तथा स्थानीय सरकारको क्षमता विकास तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगर भित्रको विपद् व्यवस्थापनमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले विपद् जुनसुुकै बेला जसलाई पनि पर्न सक्ने भएकाले त्यसको न्यूनिकरण र व्यवस्थापनमा नगर सरकारले विशेष चासोका साथ हेर्ने गरेको बताए । नगर प्रमुख थापाले भने ‘नगर भित्र विपद् व्यवस्थापनका लागि ऐन निर्माण गरी न्यूनिकरण गर्दै जाने छौं ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता नियोगको सहयोग अन्तर्राष्ट्रिय आप्रवासन संगठन मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, प्राक्टिकल एक्सन कन्सल्टेन्टिङ र लुथरन वल्र्ड फेडेरेसनको आयोजनामा तालिम सञ्चालन भएको हो ।
तालिममा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि अन्तरस्थानीय तह सहकार्य, पूर्व तयारी र प्रतिकार्य योजना, खुल्ला क्षेत्र पहिचान र शिविर व्यवस्थापन, जोखिमको वित्तीय व्यवस्था, जोखिम व्यवस्थापनको काम कर्तव्य, कोष सञ्चालन कार्यविधि, विपद् लेखाजोखा लगायतका विषयमा प्रशिक्षण भएको छ । तालिमको सहजीकरण कृष्ण चौधरी र तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत विष्णु पौडेलले सहजीकरण गरेका थिए ।