रामचन्द्र रायमाझी
पाल्पा, आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन प्रचार–प्रसारको तालिका बनाएर मतदाताको घरदैलोमा भोट मागिरहेका छन् । दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुुगेका छन् भने स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाताको गाउँ, टोल र घर–घरमा पुगेर मत मागिरहेका छन् । उम्मेदवारहरु घर आगँनमा आउँदा र उनीहरुका योजना सुन्दा मतदातालाई केही गर्छन् कि अब जस्तो पनि लाग्छ । तर विगतका अभ्यास सम्झदा प्रायजसो उम्मेदवार चुनावमा मत माग्न मात्रै आउने र त्यसपछि हराउने गरेको स्थानीयको अनुभव छ । चुनावमा मतदातालाई विश्वस्त पार्दै आफ्ना योजना सुनाउने माध्यम घरदैलो हो । त्यसले मतदाता र उम्मेदवारलाई एकठाउँमा पनि जुटाउँछ । तर भोट चाहिँदा घर बस्तीमा पुग्ने तर निर्वाचनपछि आश्वासन पुरा नगर्ने र मतदातालाई विर्सने राजनीतिक प्रवृति प्रति आमनागरिकमा भने असन्तुष्टि छ ।
पाल्पा क्षेत्र नं २ मा गठबन्धन दलका उम्मेदवार र दलहरु भोट माग्दै मतदाताका घर–घरमा पुगेका छन् । गठन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका सोमप्रसाद पाण्डे अहिले तानसेनका मतदाताहरुसँग भोट माग्नमै व्यस्त छन् । उनले मतदातासँगको भेटमा पाल्पाका अधुरा र ठूला योजना पूरा गर्न पुनः निर्वाचनमा आएको बताए । अहिलेको मुुलुकको विकास र समृद्धिका लागि गठबन्धनको आवश्यकता रहेकाले गठबन्धनका सबै उम्मेदवारलाई मत दिएर विजयी बनाउन उनले सबैलाई आग्रह गरे । पाण्डेसँगै भोट माग्न मतदाताको घरमा पुगेका प्रदेश सभा २ (१) का उम्मेदवार, नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताए । गठबन्धनबाटै प्रदेश सभा २ (२)का उम्मेदवार बनेका नेकपा माओवादीका नेता तुलराम (बसन्त) घर्ती पनि मतदाताहरुसँग भोट माग्न गाउँ पसेका छन् ।
यस्तै नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे गाउँ टोलमा पुगेर मतदाताहरुसँग भोटको अपिल गरेका छन् । उनले यस पटक आफु र आफ्नो टिमलाई विजयी गराउन सबै मतदातालाई आग्रह गरिरहेका छन् । गैरेसँग प्रदेश सभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती र परशुराम भट्टराईले पनि मतदाताहरुसँग मत मागिरहेका छन् । उता पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु पनि मतदाता रिझाउन घरदैलोमा छन् । गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले क्षेत्र नं. १ को विकास र समृद्धिका लागि मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । उनले मतदाताहरुसँगको भेटमा पटक–पटक एमालेलाई जिताए पनि यस क्षेत्रको विकास हुुन नसकेकाले यस पटक गठबन्धनका उम्मेदवारलाई जिताउन भनेका छन् । उनीसँगै प्रदेश सभाका सदस्यहरु शंकर खनाल र श्यामकान्त खनाल पनि घरदैलोमै व्यस्त छन् । एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका नारायणप्रसाद आचार्यले पनि मतदतालाई रिझाउन घरदैलो अभियानलाई तिव्रता दिएका छन् । उनले पूर्वीपाल्पाको विकासका लागि एमालेका उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् । उनीसँगै प्रदेश सभा सदस्यका उम्मेदवार खेमबहादुर सारु र राजुप्रसाद श्रेष्ठले पनि मतदातासँग भोट मागेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आ–आफ्नातर्फबाट चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै उम्मेदवार गाउँ पसेका हुन् । पाल्पाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ४५ जना चुनावी मैदानमा छन् ।