कृष्ण पोखरेल
पाल्पा, तानसेन नगर सरकारले नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखालाई वि ग्रेटको एम्बुलेन्स दिएको छ । नगरवासीको सेवा सुविधाको लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रस पाल्पाको ४० प्रतिशत लगानीमा खरिद गरिएको एम्बुलेन्स नगर सरकारले रेडक्रसलाई दिएको हो ।
नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र निवर्तमान नगर प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बीच संयुक्त रुपमा रेडक्रसलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । गत आर्थिक वर्षको बजेटमा तानसेन नगरपालिकाले नगरवासीको सेवा र सहयोगका लागि रेडक्रस पाल्पालाई एक वटा एम्बुलेन्स दिने गरी बजेट विनियोजन गरेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरवासीको हितमा एम्बुलेन्स सञ्चालन गरिने बताए । रेडक्रस पाल्पासंग सरसल्लाह गरेर के कस्तो तरिकाबाट नगरवासीहरुलाई सेवा सुविधा प्रदान गर्न सकिने विषयमा आधिकारीक रुपमा सम्झौता गरी कार्यान्वयन गरिने नगर प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा निवर्तमान नगर प्रमुख शाहीले तानसेन नगर भित्रका सुत्केरी, गर्भवती महिला, क र ख वर्गका अपा·हरु, जेष्ठ नागरिक, गरिब, विपन्न परिवारलाई नगर भित्रका अस्पतालमा समयमा पुर्याउने उद्देश्यले एम्बुलेन्सको परिकल्पना गरिएको बताए । एम्बुुलेन्स आएकाले अब तानसेनका जनताले परिकल्पना अनुसारको सेवा सुविधाा पाउने निवर्तमान नगर प्रमुख शाहीले जोड दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले पाल्पामा अहिले सम्मकै उच्चस्तरीय, उच्च प्रविधि जडान भएको एम्बुलेन्स रेडक्रसले सञ्चालन ल्याएकोमा खुसी व्यक्त गरे । बाटो पुगेको स्थानमा सम्म २४ सै घण्टा एम्वुलेन्स सेवा प्रदान गर्ने सभापति शर्माले बताए । नर्स बस्ने सिट सहित अक्सिजनको लेवल घटाउने बढाउने उपकरण समेत एम्बुुलेन्समा जडान गरिएको छ ।