Shittalpati
पाल्पाको माथागढीमा कुकुरले टोकेर २८ जना घाइते

पाल्पा, पछिल्ला केही दिन यता जिल्लाको माथागढीमा सडक कुुकुरहरुले आतंक नै मच्याएका छन् । कुुकुरले बाटोमा हिड्ने मानिस र पशुुचौपायहरुलाई पिछा गर्ने र टोक्ने गरेका छन् । यहाँको चिदीपानी, रुप्से र कसेनीमा सडक कुकुरले टोकेर एकै दिन २८ जना घाइते भएका छन् । घाइते सबैको तानसेनस्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । सडक कुकुरले बिहीबार बिहानदेखि बेलुकीसम्म माथागढी गाउँपालिका–१ को चिदीपानी, २ को रुप्से र ३ को कसेनीका बासिन्दालाई घाइते बनाएको वडाध्यक्ष राजकुमार पन्थीले बताए । कुकुरले अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको छ । तीन जनाको सामान्य उपचारपछि घर फर्किएका छन् । सो क्षेत्रमा केहि दिनयता भुस्याहा कुकुरको विगविगी बढेको छ ।

कुकुरले टोकेकाहरुको रेबिजविरुद्धको सुई लगाएपछि थप उपचार भइरहेको छ । तानसेनस्थित पाल्पा अस्पतालमा भने रेविजविरुद्धको खोप अभाव रहेको छ । घाइतेमध्ये चार जनालाई घाँटीदेखि माथिको भागमा टोकेकाले इमिनोग्लोबिन इक्जेन्सन लगाउनुपर्ने अस्पतालले जनाएको छ ।

अध्यक्ष पन्थीले सामाजिक सञ्जालमार्फत माथागढी १,२ र ३ चिदीपानी रुप्से र कसेनी क्षेत्रको बौलाहा कुकुरले टोकि जनतालाई घाइते बनाएको र समाजलाई आतंकित तुल्याएको घटनाले दुखित बनाएको उल्लेख गर्दै ‘घाइतेको उपचारको लागि डाक्टरको सिफारिस प्रोटोकल अनुसारको ०, ३,७,१४,२८ दिनको दिन लाउन पर्ने भ्याक्सिनको र आउने जाने सवारी साधन सहितको सम्पुर्ण खर्च माथागढी गाउपालिकाले ब्यहोर्ने पालिका अध्यक्ष यम बहादुर चिदी र म सामाजिक बिकास समितिको संयोजकको हैसियतले प्रतिबद्धता ब्यक्त गर्दछांै’ भनेका छन् । सडक कुकुरको व्यवस्थापन लागि तत्काल काम सुरु गरिको गाउँपालिकाले जनाएको छ ।

यहाँ भुस्याहा कुकुरको टोकाइबाट स्थानीय बासिन्दा प्रभावित हुँदै आएका छन् । यस क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढेकाले धेरै कुकुरहरू बौलाएको हुनसक्ने भएकाले यस क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update