Shittalpati
भित्रियो तिहार, आज कागको पूजा गरिदैं

सीमा भट्टराई
पाल्पा, नेपालीहरुको घर दैलोमा उज्यालोको पर्व तिहार भित्रिएको छ । शनिबार यमपञ्चक सुरु भएपछि हिन्दुु नेपालीहरुको घर आगनमा तिहार भित्रिएको हो । तिहार अन्तर्गत आज पहिलो दिन कागको पूजा गरिदैं छ । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनि भन्ने प्रचलनसमेत छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । लोकमा उक्ति छ,‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दहीभात मीठो लाग्छ ।

आजको दिन कागलाई दहीभात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ । यमपञ्चकको पहिलो दिन शनिबार धनतेरसमा हिन्दुहरूले आफ्नो घरको मूलढोकामा बत्ती बालेका छन् । त्यही दिनबाट उज्यालोको उत्सवका रूपमा तिहार सुरु भएको हो । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइदै छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कार्तिक ७ गते सोमबार नै रहेको छ । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कार्तिक ८ गते मंगलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ । कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ । कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ । यसदिन साइत जुराएर टिका लगाउनेहरुका लागि विहान ११ः३७ बजे शुभसाइत रहेको छ ।

यस दिन उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चा· निर्णायक विकास समिमिले जनाएको छ । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ । घर–घरमा दीप बालेर मनाइने हुनाले यो पर्वलाई दीपावलीका रूपमा चिनिन्छिं । औंसीको दिनमा दीप प्रज्वलन गरेर धनधान्यकी अधिष्ठात्री महालक्ष्मीको पूजा गरिन्छ । वैदिक मान्यताअनुसार दीप ज्ञानको प्रतीक मात्र होइन, कर्मको साक्षी पनि हो । यसरी तिहारमा बालिने बत्तीले सुख–स्वास्थ्य, आयु–आरोग्य र धनधान्यको साझा प्रतिबिम्ब चित्रण गर्छ । तिहारको आफ्नै धार्मिक, सांस्कृतिक र शास्त्रीय महत्व होला । तर, कृष्णपक्षका निष्पट्ट रातमा चारैतिर झिलिमिली र प्रकाश हुनु यो पर्वको विशेषता हो, जसकारण छुट्टै उमंग र रौनकताको चाड बन्छ तिहार । धार्मिक आस्थाले यमदीप दान गर्ने, लक्ष्मीलाई खुसी पार्न दियो बाल्नेभन्दा पनि चम्किलो प्रकाश भएका र झिलिमिली बत्ती बालेर चाड मनाउने प्रवृत्ति बढ्दो छ । तिहारमा विद्युतीय बत्तीको प्रयोग बढेपछि दियोमा तेल राखेर बाल्ने चलन बिस्तारै घट्दो छ । बिजुली बत्तीको प्रयोगले दीपावली दियोको बत्ती बाल्ने प्रचलन हराउँदो छरु। दीपावलीमा माटोको दियो बाल्ने चलनलाई आधुनिक झिलिमिली (झिमझिम) बल्ने बिजुली बत्तीले विस्थापित गरेको छ । केही वर्षअघिसम्म दियोका साटो मैनबत्ती बाल्ने प्रचलन देखिन्थ्यो । तर, अहिले त्यो पनि घटेको छ । दियो बाल्दा महँगो हुनुका साथै झन्झटिलो हुनाले दियोको साटो मैनबत्ती बालिन्थ्यो। समयक्रमसँगै अब दीपावलीमा स्थानीय बजार तथा गाउँमा समेत बिजुलीबाट बल्ने बत्ती नै बढी प्रयोगमा आउन थालेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update