पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । पालिकाका विभिन्न वडाबाट सदरमुकाम रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभइ लामो समय हिँडनु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ । पालिकाले शिविर नै सञ्चालन गरेर भत्ता वितरण गरेको हो ।
यसअघि नेपाल बैंक पाल्पा शाखा र विभिन्न काउटरबाट भत्ता पाइरहेका नागरिकहरूले वडाबाटै सेवा पाएका हुन् । नेपाल बैंक पाल्पा शाखाको समन्वय र गाउँपालिकाको सहकार्यमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, नेपाल बैंक पाल्पा शाखा प्रबन्धक गिरिराज बेलवासे लगायत जनप्रतिनिधी र कर्मचारीको उपस्थितिमा वडा कार्यालयमै पुगरे सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिक (श्रावण, भाद्र र असोज)मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ३ हजार ८७ लाभग्राही मध्य दस्तखत गर्ने, जिल्ला बाहिर हुने र बैंकमै सहज हुनेहरूका लागि बैंकमै सामाजिक सुरक्षा भत्ता जम्मा गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका एम.आई.एस. अपरेटर भोजराज भट्टराईका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म चलेको थियो । जस अनुसार असोज २८ गते वडा नं. ७ खानीगाउँ, २९ गते वडा नंं. ८ बराङ्दी र वडा नम्बर ९ चापपानी, असोज ३० गते वडा नं.४ खानीछाप, असोज ३१ गते वडा नं. ५ दर्लमडाडाँ, कार्तिक १ गते वडा नं. ६ गुँगा, कार्तिक २ गते वडा नं. ६ कै सीता मा.वि. ठूलापोखरा, कार्तिक ३ गते वडा नं. ३ नायरनम्तलेस र कार्तिक ४ गते वडा नं. २ पोखराथोकमा टोली पुगेको थियो । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाले नागरिकका लागि सहज र सर्वसुलभ सेवा दिने प्रतिवद्धता जनाए अनुसार वडामै सेवा दिइएको र यसलाई निरन्तरता दिने बताइन् । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले नागरिकको सहजताको लागि वडास्तरमै सेवा सूचारु गरिएको बताए । प्रमुख प्रशासकीय अधित विष्णु घर्तीले नागरिकको वडास्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा लाभग्राहीले छिटो र छरितोगरी सेवा लिन पाएको बताए । गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले सामाजिक सुरक्षा भत्ता वितरणको साथमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर लगायतबाट नागरिकले एकीकृत सेवा घरदैलोमै पाएको बताए । उनले नागरिकको सहजताका लागि आगामी दिनमा वडातहमै एकीकृत सेवा सञ्चालन गरिने जानकारी दिए । सामाजिक सुरक्षा भत्तासँगै सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय १० जना नागरिकले लाभ लिएका छन् ।