Shittalpati
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।

वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ र पूर्वमन्त्री,पाल्पा क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेद्वार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेयले संयुक्त रुपमा मैनवत्ति बालेर डेस्कको शुुभारम्भ गरेका हुन् ।

डेस्कको शुुभारम्भ गर्दै प्रमुख अतिथि समेत रहेका गठबन्धनका संयोजक श्रेष्ठले निर्वाचनका बेला विभिन्न अफवाहरु फैलने सक्ने भएकाले सही र तथ्यगत रुपमा समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । उनले स्थानीय तहमा पत्रकारहरुले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको स्मरण गर्दै आगामी मंसिर ४ को निर्वाचनलाई पनि स्वच्छ, निष्पक्ष र मर्यादित बनाई वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने दिशामा भूमिका खेलिदिन पत्रकारहरुलाई आग्रह गरे । उनले भने ‘लोकतन्त्रको रक्षा र समृद्धिका लागि वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनुु अहिलेको आवश्यकता हो त्यसैले सबै पत्रकाहरुले यसतर्फ ध्यान दिनुु पर्छ ।’ गठबन्धनको उम्मेदवार विजयी भएमा पत्रकार पेन्सन तथा राज्यले नै तलव भत्ताको व्यवस्था गर्ने गरी विधेक संसदमा पेश गरिने श्रेष्ठले बताए ।

विशिष्ट अतिथि पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले अहिलेको निर्वाचन संविधानलाई मलजल गर्ने कि मासेर पुनः प्रतिगमन तिर फर्किने भन्ने बिचको मुख्य लडाई भएकाले यसपटक गठबन्धनको जित हुनु आवश्यक रहेको बताए । उनले पत्रकार भनेको निष्पक्षरुपमा जनताको आवाज उठाउने भएकाले निष्पक्ष रिपोटिङ्ग गर्न समेत आग्रह गरे । पाण्डेयले गठबन्धन सरकार र आफूले गरेको कामको समेत विपक्षीले दुष्प्रचार गरिएकाले त्यसको सहि र सत्य तथ्य पत्ता लगाई जनतालाई सुुशुुचित गर्न पत्रकारहरुलाई आग्रह गरे । न्यूज डेस्कका संयोजक तथा नेपाल प्रेस पाल्पाका सभापति भरत शर्माले समाचारको माध्यमबाट निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउने दिशामा प्रेस युनियन र प्रेस सेन्टरका पत्रकाहरुको संयुक्त प्रयासमा न्यूूज डेस्क स्थापना गरिएको बताए । उनले समाचार सम्प्रेषणमा सहजता प्रदान गर्न डेस्कले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । युनियनका सभापति शर्माको अध्यक्षता, उपसभापति मन गहिरेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update