पाल्पा, राजनीतिक दल र उम्मेदवारले कार्तिक १७ गतेपछि मात्र जुलुुस, आमसभा र कोणसभा गर्न पाउने छन् । मंसिर ४ मा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा र कोणसभा कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।
आचारसंहिता बमोजिम निर्वाचन प्रचार–प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । आचारसंहिताबमोजिम दल उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ । प्रचार–प्रसारका क्रममा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ भने आयोगको सहमति लिनुपर्नेमा सहमति नलिई नयाँ कार्यक्रम सञ्चालन गर्ने, तलव सुविधा बढाउने, कर्मचारी नियुक्ति र सरुवा गर्ने निकायलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।