विष्णुप्रसाद घिमिरे (रासस)
तानसेन, झिसमिसे बिहानीमा गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पाको बगनासकाली गाउँपालिका–७ दैलातुका गजवीरको गोठ गत वर्ष फागुनमा आगोले जलेको थियो । उनी भन्दै थिए, ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु ।’ यहाँ ३२ घरसहित बोटेमाझीको बस्ती छ । गजवीर, बोटे समुदायका अगुवा हुन् । ८२ वर्षीय गजवीरले प्रजातान्त्रिक आन्दोलनलाई सफल पार्न यो क्षेत्रबाट अगुवाइ गरेका थिए । पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२/६३ मा जनआन्दोलनको नेतृत्व गरेका गजवीर अहिले आफ्नै छाक टार्न धौधौ पर्ने अवस्थामा छन् ।
६८ वर्षीया श्रीमतीसँगै बस्दै आएका उनका ६ छोरा र ४ छोरी छन् तर कोही पनि साथमा छैनन् । यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटे समुदायले डुङ्गा तार्ने काम गर्थे । दैलातुङ्गदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जाने गर्थे । गजवीरले १३ वर्षको उमेरदेखि डुङ्गा तार्ने काम गर्दै आएका थिए । तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा अहिलेजस्तो पुल थिएन । सर्वसाधारणलाई नदी वारिपारि गर्न डुङ्गाको सहारा लिनुपथ्यो । मान्छेलाई वारिपारी गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो । अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुङ्गा गण्डकी किनारमा फालिएको छ र उनको आम्दानीको स्रोत बन्द भएको छ । यही क्षेत्रका रुकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो । ६९ वर्षका रुकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो । गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आएका उनले आफ्नो जीवनकालमा ६ पटक संसदीय निर्वाचनमा भोट हाले । ‘पहिला पहिला त घर आएर भोट माग्थे, यसपालि आएका छैनन्’, उनले भने, ‘यहीँ माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन् ।’ रुकबहादुरको घरनजिकै खानीगाउँ दैलातुङ्ग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो छ । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो क्षेत्र लुम्बिनी प्रदेशको २ (१) हो । यहाँबाट २०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय निर्वाचित भएका थिए ।
त्यसैगरी प्रदेशसभातर्फ नेपाली कांग्रेसका वीरबहादुर रानाले जितेका थिए । रानाको जन्मघरसमेत यसै वडामा पर्छ । उनी अहिले लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत छन् । पाण्डेय र राना दुवै अहिले गठबन्धनको तर्फबाट पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा उमेदवार बनेका छन् । अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मी/डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जान्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । ‘घर उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैनन्’, स्थानीयवासी पवित्रा बोटे भन्छिन्, ‘हामीलाई के नै चाहिएको छ र ? दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो ।’ बोटे बस्तीमा नेपाल सरकारले जनता आवास कार्यक्रमबाट बस्नका लागि घर निर्माण गरिदिएको थियो । स्थानीयवासी पवित्रा बोटका अनुसार ३२ घर बोटे परिवार रहेको बस्तीमा आठ वटा मात्र घर बनेका छन् । बाँकी घर झुपडी र टिनको छाप्रोयुक्त छन् ।कूल जनसंख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । यसमा बोटे र माझी पनि पर्छन् ।