Shittalpati
बंगुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

वालिङ, स्याङ्जाको पुतलीबजारमा बंगुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखापरेको छ । बंगुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए ।

जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बंगुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो । ‘बंगुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ’, उनले भने, ‘त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ पुतलीबजारका विभिन्न स्थानमा किसानले पालेका बंगुरमा एक महिना अघिदेखि यो रोगको संक्रमण फैलिएको हो । ‘यसको कुनै उपचारविधि तथा भ्याक्सिन छैन’, उनले भने, ‘संक्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बंगुरलाई खाडल खनेर गाड्नुपर्छ ।’ संक्रमण फैलिएका ठाउँमा कार्यालयबाट चुना र ‘भिरकोन’ उपलब्ध गराइएको र व्यवसायीलाई प्राविधिक ज्ञान तथा परामर्श दिइएको उनले बताए ।

यो सरुवा रोग भएकाले संक्रमित बंगुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने सुझाव उनको छ । स्याङ्जाको पुतलीबजार १४ र सोही पालिकाको अन्य दुई ठाउँमा देखिएको संक्रमणबाट हालसम्म तीन सय बढी बंगुर तथा पाठापाठी मरिसकेको विवरण प्राप्त भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाले जनाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update