Shittalpati
गुल्मीका स्थानीय तहमा सार्वजनिक विदा

गुल्मी, आज जिल्लाका केही स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । हरिबोधनी एकादशीको अवरसमा यहाँका तीन स्थानीय तहमा सार्वजनिक विदा दिइएको हो । रेसुङ्गा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यी स्थानीय तहले छुट्टा–छुट्टै सूचना जारी गर्दै कात्तिक १८ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर/गाउँ क्षेत्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा विदा दिइएको छ । एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले पनि स्थानीय तहले सार्वजनिक विदा दिदै आएका छन् । एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गामा दैनिक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ । रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश गरेको छ । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यात्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरू पनि रहेका छन् । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालयजस्ता धार्मिकस्थलहरू यसै संरक्षित वन क्षेत्रभित्र पर्दछन् ।  –अनिल खत्री

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update