Shittalpati
सुुरू भयो सत्यवतीमा अनौठो मेला, ‘सत्यवती बज्यै’सँग चिच्याएर मागिदै वर

रामचन्द्र रायमाझी
पाल्पा, प्रायः मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शिवाद माग्ने गरिन्छ । हिन्दु धर्ममा मनमनै ‘वर’ माग्नु नौलो होइन । तर पाल्पाको तिनाउ गाउँपालिका –४ कोलडाँडास्थित सत्यवती ताल र माईको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । ताल र मन्दिरको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्चाएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो ।

सत्यवती बज्यैदेवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको छ । ‘हे सत्यवती बज्यै मैले राम्रो श्रीमान/श्रीमति पाउँ, पहिलो सन्तानमै छोरा पाऊँ, सरकारी जागिर पाउँ, पढाइमा सफल हुन पाऊँ, परिवारमा सुःख, शान्ति मिलोस्, मनले आँटेका सबै कुरा पूरा हुन् आदि ।’ यी र यस्तै वर माग्ने सत्यवती मेला आजदेखि कार्तिक २२ गतेसम्म लाग्ने छ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमासम्म तीन दिन मेला लाग्दै आइरहेको छ । यसवर्ष भने दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको हो । यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने चलन छ । विगतमा प्रायः कार्तिक चर्तुदर्शीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा वास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन रहेको थियो । तर यो हिजो आज भने परिमार्जित भएको छ । यो बेलाको पूजा विशेष हुने भएकाले पनि मेलाको महत्व रहेको छ । यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले वर माग्दा बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किएलगत्तै सुनाउँदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीय बूढापाका बताउँछन् । परापुर्व कालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न आउनेहरुको घुइँचो लाग्दछ । पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरूका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट समेत यहाँ भक्तजन आउने गर्दछन् ।

द्वन्द्वकाल अघिसम्म रातिमा मात्र लाग्ने मेला अहिले दिउँसोमा पनि लाग्न थालेको हो । अन्य दिन बढी दिउँसोमा जान्छन् । अन्तिम दिनमा भने रातिमा जानेको घुँइचो लाग्ने गर्दछ । १ हजार ५ सय मिटर अग्लो डाँडामा जंगलको बीचमा ताल छ । यसरी चिच्चाएर वर माग्ने चलन यहीं मात्र छ । दिउँसोमा भाकल गर्नेहरू पुग्छन् । रातिमा युवकयुवतीको बढी भीड लाग्ने गर्दछ । विगतका केही वर्ष कोभिडका कारण चहपहल नभएको मेला यो वर्ष भने भव्य हुने जनाइएको छ । यस वर्ष सत्यवती बज्यैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेकाले गत वर्षभन्दा धेरै भक्तजन सहभागी हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार विहानैदेखि पुजा सुरु हुनेछ । मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो संख्यामा दर्शनार्थी भित्रिने हुनाले पूजालाई व्यवस्थापन गर्न स्वयसेवहरु खटाइएको अध्यक्ष गाहाले बताए ।

यो वर्ष मेलामा आउने भक्तजनलाई सहजरूपमा मन्दिरसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध मिलाइएको वडा अध्यक्ष तुलबहादुर गाहाले बताए । उनका अनुसार मन्दिर पुग्ने सडक मर्मत, मन्दिरमा पिउने पानी, ट्वाइलेटको थप व्यवस्थापन गरिएको छ । यस वर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख भेटी उठ्ने अनुमान मन्दिर व्यवस्थापन समितिको छ । तानसेन र बुटवल क्षेत्रबाट आउने भक्तजन पैदल २ घण्टाको उकालो हिँडेपछि मन्दिरमा पुग्ने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update