Shittalpati
तानसेनलाई हरित र सफा शहरको रुपमा विकास गरिने

पाल्पा, तानसेन नगरपालिकाले नेपाल नगरपालिका संघसँग मिलेर खानेपानी सरसफाई क्षेत्रमा सुसासन, सुदृढिकरण कार्यक्रम लागु गर्ने भएको छ ।
नेपाल नगरपालिका संघसँग भएको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकालाई पाँच वर्ष भित्र ग्रिन शहर, स्वच्छ, सफा शहरको रुपमा परिचित गराउने बताए । तानसेनलाई प्रकृतिले सुन्दरता दिएको छ, स्वच्छ हावा, वन वातावरण शोभायमान बनाएको छ, यो सुन्दरतालाई हामीले व्यस्थित गर्न खानेपानी र सरसफाई क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरी नियमित काम गर्ने नगर प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा उप प्रमुख प्रतिक्षा सिंजालीले दुबै पक्षको सहकार्यमा गरिएको कामले छिटो नतिजा आउने भएकाले त्यसमा सिङ्गो नगरपालिका परिवार स्वच्छ सफा शहर बनाउन सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाईन् । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले स्वच्छ सफा नगर बनाउन नगरपालिका पहिलो खानेपानीको व्यबस्थापन, ग्राविटी तथा लिफ्ट प्रणालीका खानेपानीको अवस्था, एक घर एक घारा, पानीका मुलहरुको अवस्था, घर–घरका शौचालयको अवस्था, ढल तथा सेफ्टी ट्याङकीको अवस्थाको बारेमा नगरवासीको घर–घरमा पुगी तथ्याड्ढ संकलन गरिसकेको बताए ।
कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले पर्याप्त खानेपानी, राम्रो ढलनलको व्यबस्था, सेफ्टी ट्याङकीमा जम्मा भएको मानव मल मुत्रको सही व्यवस्थापन भए मात्र स्वच्छ सफा शहर बनाउन सकिने भएकाले सो कार्यमा संघले तानसेन नगरपालिकालाई सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल नगरपालिका संघका लक्ष्मण उपाध्यायले अहिले नमुनाको रुपमा नेपालका ५ वटा नगरपालिकामा स्वच्छ, सफा शहर बनाउने कार्यक्रम लागु भएको, कार्यक्रमका चरण तथा उद्देश्यहरु, कार्यक्रमले पार्ने प्रभावका बारेमा जानकारी गराएका थिए । कार्यक्रम तानसेन नगरपालिकाका सरसफाई तथा स्वच्छता शाखा प्रमुख शंकर भण्डारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update