पाल्पा, जिल्लाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै निस्किएका छन् । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफैले अव्यवस्थित सामग्रीहरु हटाउन थालेका हुन् ।
केही दिन अघि नगर सरकारले डोजर, ट्रक र ट्याक्टर लगाएर सडक पेटी तथा सटरको पेटिमा राखिएका सामाग्री हटाएको थियो । अझै पनि केही ठाउँहरुमा ति सामग्री राखिएको जानकारी पाएपछि नगर प्रमुखसहितको टोली हटाउन बजारमा निस्किएको हो । टोलीले मापदण्ड विपरित व्यापारीक प्रयोजनका लागि सामान राखेका पसलहरुबाट विभिन्न सामग्रीहरु जफत गरेको छ । साथै नो पार्कि·मा राखिएका मोटरसाईकलको हेलमेट पनि नियन्त्रणमा लिएको छ । नगरपालिकाले ईलाका प्रहरी कार्यालय रामपुर र नगर प्रहरीको सहयोगमा मापदण्ड विपरित राखिएका सामग्रीहरु नियन्त्रणमा लिएको हो । सडक तथा सटर भन्दा बाहिर पेटिमा राखिएका खाद्यान्न, फलफुल, तरकारी, कपडा, खेलौना तथा कस्मेटिक सामान, फार्निसि·का सामग्री जफत गरिएको नगर सरकारले जनाएको छ । सोही अवसरमा नगर प्रमुख थापाले बजार क्षेत्रको साँगुरो सडकमा सडक पेटीसम्म सामान राखेर विक्री वितरण गर्दा दुर्घटनाको जोखिम भएकाले ति सामान हटाउन सबैलाई अनुरोध गरेका छन् । उनले कार्यपालिकाको बैठकको निर्णय अनुसार बजारलाई व्यवस्थित बनाउन व्यवसायीहरुलाई यस अघि नै सूचना गरी सामाग्री नराख्न आग्रह गरे पनि अटेरी गरी सामान राखेका व्यवसायीको सामान जफत गरिएको बताए । यस्तै उपप्रमुख बालकुमारी थापाले बजार व्यवस्थापन र सुन्दरतालाई कायम राख्न मापदण्ड अनुरुप सामान राखेर व्यवसाय गर्न सबैलाई आग्रह गरेकी छन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले व्यवसायीहरुले नगरको आग्रहलाई वेवास्ता गरे नियम अनुसार कारवाही गरिने बताए । नगर प्रमुख सहित इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल सहित पत्रकारहरुको टोली अव्यवस्थित रुपमा रहेका सामग्री हटाउन बजार निस्किएको थियो ।